धरान : धरानमा अहिले साँझ थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गएको भदौ ४ गते एन्फा क्वारेनटाइनमा स्वाब लिइएकाहरू मध्ये धरान १७ का ३५ बर्षीया महिला र १४ बर्षीया बालिका र अर्को धरान १६ एक जना २३ वर्षीय पुरुषमा गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

३५ बर्षीया महिला र १४ बर्षीया बालिका आमा छोरी हुन् । उनीहरूको ट्राभल हिस्ट्री नभएको बताइएको छ । कुशे औँसीका दिन बुबाको मुख हेर्न कालाबन्जार गएको र उनीहरूमा ज्वरो आएपछि एन्फा क्वारेनटाइनमा स्वाब दिन गएको बताइएको छ । अहिले आमा छोरीको अवस्था सामान्य रहेकोले उनीहरू होम आइसोलेसनमै बस्ने भएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।

यसै गरी धरान १६ का एक जना २३ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण भएको छ । उनी धरान १६ को जोर सखुवा नजिकै परिवार सहित बस्ने गरेको बताइएको छ । उनी भने भारतीय सेना भएको बताइएको छ । नेपालको पश्चिम महेन्द्रनगर नाका हुँदै एन्फा क्वारेनटाइनमा भदौ ४ गते आईपुगेका थिए । सोही दिन उनले स्वाब दिएका थिए । उनी एन्फामा दर्ता भएर होटल क्वारेनटाइनमा बसेका थिए ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ४ पुगेको छ भने यी मध्ये विदेशबाट आउने ४२ जनामा र समुदायका ६२ जनामा कोरोना सङ्क्रमण देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।