धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरान-८ का अर्का कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार धरान-८ निवासी ६८ वर्षीय पुरुषको अहिले साँझ ६:३५ मा मृत्यु भएको हो ।

उनमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो । त्यो सँगै उच्च रक्तचाप, मधुमेह पनि थियो । साउन २९ गते विजयपुर हस्पिटलमा उपचारको क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । साउन ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका थिए ।

उनी बीपीमा पहिलो प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने कोरोना संक्रमित व्यक्ति हुन् । उनी धरानमा जग्गा तथा हार्डवेयर व्यापारी पनि हुन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । यस भन्दा अघि एक धरान १५ का १ महिला र १ जना पुरुषको प्रतिष्ठानमै उपचारको क्रममा मृत्यु भएको थियो ।