धरान : कोरोना संक्रमित भनेपछि त्यसै डराउने हाम्रो समाजमा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम सङ्क्रमितलाई हाैसला प्रदान गर्न इटहरीकी उपमेयर घर- घरमा पुग्न थालेकी  छन् ।

कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका व्यक्तिहरूलाई हौसला प्रदान गर्न इटहरी उपमहानगरको तर्फबाट घर घरमै पुगेर भेटघाट सुरु गरेकी छिन् ।

उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोली सहित घर घरमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन थालेका छन् ।

इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमला र हेल्थ असिस्टेन्ट धर्मनन्द भट्ट सहित उपमेयर गौतमले ११ जनाको घरमै पुगेर फलफूल, औषधी र गुर्जो सहित सङ्क्रमित घर-घरमा पुगेर स्वास्थ्यलाभको कामना गरेका छन् । आइतबार वडा नम्बर ४,५,६,९,१६ र १९ का संक्रमित र निको भएका ११ जनालाई उपमेयर सहितकाे टाेलिले भेटेकाे प्रेस संयाेजक लिलाराज भट्टराइले जानकारी दिए  ।

होम आइसोलेसनमा बस्दा स्वास्थ्यको मापदण्ड पूरा भए नभएको अनुगमन समेत गरिएको इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज राम कुमार धमलाले जानकारी दिए ।

कोरोना सङ्क्रमण भएर इटहरी-४ मा होम आइसोलेसनमा बसेकी प्रदेश सांसद कुसुम श्रेष्ठले इटहरी उपमहानगरकी उपप्रमुख, स्वास्थ्यकर्मीको टोली समेत आएर भेट गरेकोमा खुसी लागेका प्रतिक्रिया दिइन् ।

सङ्क्रमितहरूलाई समाजले हेर्ने दृष्टिकोण फरक भएको वेला स्थानीय सरकार घर घरमा पुगेर हौसला प्रदान गर्दा सङ्क्रमितहरूलाई हाम्रोलागि सरकार रहेछ भनेर मनोबल वढ्ने प्रदेश सांसद श्रेष्ठले बताइन् । यस्तो कार्यले समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन सहयोग पुग्ने भएकाले अन्य स्थानीय तहले पनि इटहरी उपमहानरवाट सिक्नुपर्नेमा प्रदेश सांसद श्रेष्ठको भनाई छ ।

कोरोना सङ्क्रमण भएर निको भई होम आइसोलेसनमै रहेका इटहरी उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले उपमेयर सहित स्वास्थ्यकर्मीहरूको टिम आएर हौसला बढाउने कार्य गरेकोमा खुसी लागेको प्रतिक्रिया दिए ।

इटहरी उपमहानगरमा होम आइसोलेसनमा बसेका सवैका घरमा पुग्ने उपप्रमुख लक्ष्मी गौतमले बताएकी छिन् । इटहरीमा होम आइसोलेसनमा २५ जना बसेका छन् ।