धरान : बारीमा रगत जमेको, कतै रगतको दाग र रगत जमेको चप्पललाई आधार मान्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले गुणराज यादवको हत्याकाण्डको अनुसन्धान सुरु गर्‍यो । यस अघि हत्याकाण्डमा सङ्लग्न ५ जनालाइ पक्राउ गर्‍यो । शुक्रवार थप ३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कृपाराम मेहता ,बुद्धन यादव र जनरधन यादव रहेका छन् । यस अघि घटनामा संलग्न ५ जना पक्राउ परेका थिए । गुणराज यादवको हत्याकाण्डमा संलग्न २ जनालाई यादवको शव व्यवस्थापनमा संलग्न रहेको आरोपमा पक्राउ गरेको घटना अनुसन्धानका अधिकृत तथा इन्स्पेक्टर सरोज खनालले जानकारी दिए ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ मा साउन ३१ गते २२ वर्षीय गुणराज यादवको शव ५० केजीको ढुङ्गा हालिएको बोराभित्र भेटिएको थियो। मृतक युवकले गाउँका धेरै युवतीसँग प्रेम सम्बन्ध राखेपछि ५ जनाको मिलेमतोमा हत्या गरी शव व्यवस्थापन गर्ने क्रममा ढुङ्गा हालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृतक यादवले धेरै गाउँका युवतीहरू सँग प्रेम सम्बन्ध राखेको, धेरै युवतिहरू सँग नाम जोडिएको र धेरैलाई धोखा दिएपछि योजना बताएर नै हत्या गरेको अनुसन्धानमा खुलेको खनालले बताए ।

हत्याका आरोपीहरूका कोही छोरी, कोही प्रेमिका, कोही बहिनी सँग मृतकको नाम जोडिएको थियो ।