धरान : विराटनगरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा गए राति करिब १० बजे विराटनगर– ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

४ भदौमा स्वाब सङ्कलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । मृतक पुरुष सङ्क्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ती हुन ।

गए राति मृत्यु भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनको सङ्ख्या १० पुगेको छ ।
विराटनगर वडा नम्बर ९ र १० मा २–२ जनाको मृत्यु भएको छ । वडा नम्बर १० का मृतक मध्ये एक जना स्थायी ठेगाना कटहरी गाउँपालिका हो । त्यस्तै विराटनगर महानगरपालिका २, ३, ५, ६ र १५ नम्बर वडामा एक एक जनाको मृत्यु भएको छ ।