धरान : कोरोना सङ्क्रमितको सङ्ख्या बढेको भन्दै इटहरी वडा नम्बर ६ र ९ नम्बर वडालाई सिल गर्ने निर्णय गरिएको छ ।

आज इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो । वडा नम्बर ६ र ९मा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेकाले सिल गर्ने निर्णय गरिएको वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले बताए । भदौ १४ गते सम्म सिल गरिएको वडा नम्बर ९ का अध्यक्ष भूपेन्द्र बरालले बताए । ती वडामा अतिआवश्यक सेवा र पसल बाहेक सबै सेवा र हिँडडुल पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ ।

इटहरी उपमहानगरका जनस्वास्थ्य निरीक्षक धनश्याम सिग्देलका अनुसार वडा नम्बर ६ मा १० जना र वडा नम्बर ९ मा आठ जना संक्रमित छन् । यसै गरी बैठकले इटहरी ९ स्थित रङ्गशालामा आइसोलेसन निर्माणका लागि आवश्यक पहल कदमी गर्ने निर्णय पनि गरेको छ । यसै गरी आइसोलेसन निर्माणमा सहयोग गर्न सम्बन्धित मन्त्रालय र निकायहरू सँग आव्हान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरेकाले इटहरीमा पनि यातायात,बजार,सङ्घ संस्था बन्द छन् ।