धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार सिराहाको गोविन्दपुर मलाहाना २ का २२ वर्षीय पुरुषको आज दिउसो ३ बजे मृत्यु भएको हो ।

श्वास फेर्न समस्या, अत्यधिक खोकी र ज्वरो आउनुको साथै उनी लागुऔषध प्रयोगकर्ता पनि रहेको बताइएको छ । गएको भदौ २ गते मेडिकल वार्डमा भर्ना भएका उनको स्वास्थ्यमा समस्या आएपछि आइसियुमा राखेर उपचार गरिँदै गरेको अवस्थामा उनको रिपोर्ट हिजो कोरोना पोजेटिभ आएको थियो । उनमा कोरोना पोजेटिभ देखिएपछि राति नै कोभिड १९ अस्पतालको आइसियुमा रेफर गरिएको थियो । आइसियुमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।