धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाले पहिलो पटक बच्चा जन्माएकी छिन् ।

मोरङको विराटनगर महानगरपालिका-२ की २० बर्षीया महिलाले आज २.८ केजी ताैल भएकी छोरीलाइ जन्म दिएकी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनलाई भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएकी थिइन । उनलाई डा. सूर्यप्रसाद रिमाल, डा. मुकेश, डा. हिमाल र नर्स सिरिनको निगरानीमा प्रसूति गराइएको हो । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रदेश १ मा कोभिड-१९ को लेभल ३ अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलालाई पहिलो पटक सफल प्रसूति गराइएको हो । बीपीकोे कोभिड-१९ अस्पताल लेभल ३ भएकोले प्रसूति, अन्य अप्रेसन लगायतका जटिल प्रकारका बिरामीको उपचार हुने अस्पतालले जानकारी दीएकाे छ ।