धरान : कोरोना महामारीका कारण आर्थिक अभाव झेली रहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैङ्क’ अभियान थाल्ने भएको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखाको आज बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रूपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैङ्क’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

महामारीले गर्दा पत्रकारले सबैभन्दा बढी समस्या झेल्नु परेकाले पेसा जोगाउनै गाह्रो छ, अर्कातिर आर्थिक समस्या उत्तिकै छ,’ प्रेस युनियन जिल्ला अध्यक्ष पवन अधिकारीले भने, ‘पत्रकारकै मात्र कमाइबाट धानिएको धेरैको परिवारलाई समस्या भएपछि थोरै भए पनि राहत होस् भनेर हामीले फुड बैङ्क सुरु गरिएको हो ।’ उनका अनुसार सक्ने पत्रकार, ठुला सञ्चार गृह र पत्रकारिताको हकहितमा कार्यरत संस्थाबाट उपलब्ध भएको सामग्रीहरू नहुनेलाई निःशुल्क प्रदान गरिनेछ ।

फुड बैङ्क अभियान सञ्चालन एवम् व्यवस्थापन गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवम् प्रेस युनियनका पूर्व अध्यक्ष समेत रहेका कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति तयार गरिएको छ । ‘पत्रकारको आयको बाटो अवरुद्ध भएको छ तर पनि समाचार प्राप्त गर्ने र सम्प्रेषण गर्ने काम निरन्तर र अनिवार्य छ । अग्र भागमा रहेर काम गर्ने पत्रकारको अवस्था अत्यन्तै जोखिम पूर्ण छ । अधिकारीले भने, ‘समस्यामा परेका पत्रकारलाई फुट बैङ्कमार्फत पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिनेछ । पत्रकार निशान चौधरी, उषाकिरण घिमिरे, इकवल अहमद र विनय प्रधान सदस्य रहेको समितिले हाललाई सुनसरीका पत्रकारहरूलाई सहयोग पुर्‍याउनेछ ।

अहिलेको सङ्कटका बेला जिल्लाभरका समस्यामा परेका सबै पत्रकारलाई समेट्ने लक्ष्य राखिएको छ । यसका लागि आवश्यक मापदण्ड बनाएर समितिले काम थाली सकेको फुड बैङ्क सञ्चालन तथा व्यवस्थापन समिति संयोजक कृष्ण अधिकारीले बताए । कुनै पत्रकारलाई कोरोना सङ्क्रमण भएको खण्डमा निको नहुन्जेल सम्मका लागि उसको परिवारलाई आवश्यक पर्ने खाद्यान्न फुडबैंकले उपलब्ध गराउनेछ । उनले भने ‘फुडबैंकबाट राहत ग्रहण गर्नेको परिचय गोप्य राखिनेछ । पत्रकारको हितमा कार्यरत संस्थाले अप्ठ्यारोमा परेका पत्रकारलाई सहयोग गर्नु दायित्व हो । ‘कोरोना भाइरस विरुदको अग्र मोर्चामा खटिएका पत्रकारप्रति सरकार चरम अनुदार भएपछि आफ्ना साथीको भोकको चिन्ताबाट मुक्त गर्न सक्दो कोसिस गरौँ भनेर अभियान थालिएको हो, संयोजक अधिकारीले भने ।

जिल्लाको धरान, इटहरी, इनरुवा, झुम्का, दुहबी, बराहक्षेत्र लगायतका स्थानमा पत्रकार छरिएकाले गर्दा ती पत्रकारलाई खाद्य सामग्री वितरण गर्न पनि समितिले आवश्यक व्यवस्था गर्ने जानकारी दिइयो । प्रेस युनियनले अहिलेको सङ्कटका बेला सम्पूर्ण पत्रकारिताको हकहितमा कार्यरत संस्थालाई साझा ढङ्गले कार्यक्रम लिएर अघि बढ्न पनि आग्रह गरेको छ ।

प्रेस युनियन सुनसरीले सुनसरी जिल्लाका पत्रकारहरूका लागि निःशुल्क कोरोना बिमाको व्यवस्था गर्नुका साथै कोही पत्रकार बिरामी परे विराटनगरको नोबेल अस्पतालमा पचास प्रतिशत छुटमा उपचार दिने प्रबन्ध पनि मिलाइएको छ ।