धरान : धरान-८ स्थित हिमालयन गुम्बाका विद्यार्थीले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

बिहान ५ बजेको समयमा १६ वर्षीय मुकेश तामाङले झुन्डिएर आत्महत्या गरेको खबर इलाका प्रहरी कार्यालय धरानमा आएको धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

तामाङले आत्महत्या गर्नु अघि लेखेको नोट प्रहरीले फेला पारेको छ । उनले नोटमा 'मैले आफ्नै कारणले आत्महत्या गर्ने निर्णय गरेको हुँ' आजसम्म मलाई पढाइ दिनु भएकोमा गुरुहरुलाई धेरै धन्यवाद !  भनेर आफ्नो नामको हस्ताक्षर गरेका छन् ।

तामाङको घर दमक -४ हो । उनको बुवाले कान्छी आमा ल्याए पछि दमकबाट भागेर गुम्बा आएर अध्ययन गरिरहेको गुम्बाका सन्तले बताए।

बेलुका सामूहिक रुपमा भोजन गरेर  सुतेका तामाङले बिहान उठ्दा पङ्खामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा देखेको पछी साथीहरूले गुम्बाका गुरुलाई सुनाएका थिए ।

प्रहरीले घटना स्थलको मुचुल्का गरी कानुनी प्रक्रिया अनुसार शव पोस्टमार्टम गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बस्नेतले बताए ।