विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीलाई कोरोना र अन्य विरामीहरुलाई छुट्टा-छुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रतिष्टानका पदाधिकारीहरुसँग मुख्यन्त्री कार्यलयमा छलफल गर्दै यस्तो निर्देशन दिएका हुन । 
प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गर्नुका साथै आवश्यक निर्देशन  दिएका हुन ।

मुख्यमन्त्री राईले विरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीले बताए ।

तत्काल पिसिआर परीक्षणको दायरा बढाउन तथा आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न मुख्यमन्त्री राईले निर्देशन दिएको सुवेदीले बताए ।

प्रतिष्ठानमा पाँच सय क्षमताको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशिघ्र बनाउन समेत पदाधिकारीहरुलाई मुख्यमन्त्री राईले निर्देशन समेत दिएका छन् ।

मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए । छलफलमा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।