धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरूले कोरोना संक्रमित बिरामीसँग सम्पर्कमा रहेका नर्सहरूलाई क्वारेनटाइन व्यवस्था गर्न, परिवारका सदस्यहरूको पनि पिसिआर परीक्षण गर्न माग गर्दै आज ज्ञापन पत्र बुझाएका छन् ।

कोरोना सङ्क्रमणको पहिलो जोखिममा काम गरिरहेका नर्सहरूको सुरक्षा व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । प्रतिष्ठानमा उपचार गराई रहेका बिरामीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु भइसक्दा पनि प्रत्यक्ष जोखिममा रहेका स्टाफ नर्सको सुरक्षामा बेवास्ता गरिएको उनीहरूको भनाई छ ।

प्रतिष्ठानका चारै जना प्रमुख पदाधिकारीहरू सहित मेट्रोनको समेत ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् । दुई दिन भित्र माग पुरा नभए डिउटीमा सहभागी नहुने समेत चेतावनी दिएका छन् । नर्सहरूको आन्दोलनमा हेल्पर र हेल्थ एडहरूले पनि समर्थन जनाएका छन् ।

ज्यान जोखिममा पारेर काम गरिरहे पनि अहिलेसम्म जोखिम भत्ता पनि प्रतिष्ठानले नदिइएको उनीहरूले गुनासो गर्दै सरकारले वृद्धि गरेको २० प्रतिशत तबल दिइनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेका छन् । डिउटीमा पूर्ण पिपिई दिएर मात्र खटाउनुपर्ने, कोरोना बिमाको व्यवस्था गर्नुपर्ने, कोरोना शङ्कास्पद बिरामीहरूको पिसिआर रिपोर्ट चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने लगायत मागहरू अघि सारेका छन् ।

भोलि सम्ममा माग पुरा नगरे कालो पट्टी बाँधेर काम गर्ने नर्सहरूले बताएका छन् । त्यसपछि ११ गतेसम्म पनि मागहरू पुरा नभए सम्पूर्ण स्टाफ नर्स, हेल्पर र हेल्थ एडहरू डिउटीमा सहभागी नहुने पनि चेतावनी दिएका छन् ।

118129148_351628139335326_3908915518956350898_n
तस्बिर सौजन्य : भरतराज शर्मा