इटहरी : महेन्द्र राजमार्ग अन्तरगत सुन्दरहरैँचा नगरपालिका खण्डमा (बिराटचौक-बलीया) दुई बर्ष अगाडी मर्मत गरीएको सडक भत्कीएर लथालिङ्ग भएको छ ।

सडक 'ओभर ले' भएको बर्ष दिन पुग्न नपाउँदै भत्कीएपछी पुन: मर्मत गरीएको थियो । २०७५ असारमा ‘ओभर ले’ गरीएको सडक सोही बर्षको अन्त्य सम्ममा भत्कीएको थियो । २०७६ को असारमा पनि सोही स्थानमा मर्मत गरीएको थियो । तर कमजोर मर्मतको कारण सडकमा झन् ठुला खल्डा परेर दुर्घटनाको जोखीम बढाएको छ ।

सोही बिषयलाई लिएर सुन्दरहरैंचाका स्थानीय युवाले सुन्दरहरैचा नगरपालिकाले अनियमितता गरेको आरोप लगाएका छन् ।

तर राजमार्ग नगरपालिकाको क्षेत्राधिकार भन्दा बाहीरको बिषय हो । संघिय सरकार र त्यस मातहतका निकायको क्षेत्राधिकारमा रहेको राजमार्गमा नगरपालिकाले निमार्ण तथा मर्मतमा कुनैपनि लगानी गर्न पाउँदैन ।

२०७५ साल जेष्ठमा स्थानीय युवाको दबाबमा सडक बिभागले मर्मत गरेको राजमार्ग भत्कीएपछी पुन: युवाहरु आक्रोशीत भएका हुन् ।

मर्मत कार्यको जिम्मा पाएको गितान्जली मसुज जोसीला जेभीले दुईबर्षमा दुईपटक नै काम गरीसकेको छ । १ करोड ८३ लाखमा ठेक्का पारेको कम्पनीले केही दिनमा पुन: मर्मत गर्ने गरी काम अगाडी बढाएको सडक डिभिजन कार्यलय बिराटनगरका प्रमुख पशुपती ज्ञवालीले बताए ।

सम्झौतामा नै मर्मतको जिम्मा लिने उल्लेख भएकोले आफुहरुले ताकेता गरेपछी फेरी मर्मत गर्न कम्पनी तयार भएको उनको भनाइ छ । डिभिजन कार्यलयमा आफु आउनु भन्दा अगाडी नै मर्मतको काम भएकोले यस बिषयमा सम्पुर्ण जानकारी हुन नसकेको उनले बताए ।

उता निमार्ण कम्पनीका योजना प्रमुख ऋषी जोसीले सडकमा पानी जम्मा भएर चाँडै भत्कीने गरेको बताए । पहिला निर्माणकार्यमा थोरै त्रुटी भएको कारण यस्तो भएको हुनसक्ने उनको भनाइ छ ।

उनका अनुसार दुईपटक सम्म मर्मत गर्दा घाटा भइसकेको र लकडाउन पछी फेरी मर्मत हुँदैछ । १५ दिनमा काम सक्नेगरी तयारी थालीएको उनी बताउँछन् ।