इटहरी : कोरोना नियन्त्रण तथा रोकथाममा स्थानीय तहका जनप्रतिनिधि तथा राजनैतिक दलहरू अलमलमा परिरहेको बेला केही युवा नेताहरू भने सक्रिय देखिएका छन् । स्थानीय तह देखी प्रदेश र सङ्घीय सरकारले समेत कोरोना नियन्त्रणमा भेउ पाउन सकेका छैनन् ।

बारम्बारको लकडाउनको कारण जनजीवन नराम्ररी प्रभावित भइरहेको अवस्थामा जनतालाई ढाडस दिने काम कतैबाट पनि हुन सकेको छैन ।

नेतृत्वको परीक्षा विपत् र अप्ठ्यारो समयमा हुने भन्दै नेपाली काँग्रेसका युवा नेता सुवेक्छु देवानले ‘सरकारको भर नपरौँ आफै सचेत बनौँ’ भन्ने अभियान सुरु गरेका छन् । इटहरी २० तरहरा स्थित लिबरल सोसाइटी मार्फत गत सोमबार देखी सुरु भएको अभियान अझै जारी छ । सार्वजनिक स्थल तथा मानिस आवतजावत गर्ने स्थानमा सेनीटाइजर छर्कने काम भइरहेको छ ।

Youth-Tarahara

इटहरीमा सङ्क्रमण दैनीक बढिरहेको अवस्थामा जनस्तरबाटै सचेत भएर लाग्नुपर्ने भन्दै अभियान सुरु गरेको उनले बताए । उनले नेतृत्व गरेका युवाहरूले आआफ्नो छिमेकमा कोरोना सम्बन्धी सचेतना जगाउने र सेनीटाइज गर्ने काम गरिरहेका छन् ।

इटहरी-५ का युवा नेता तथा नगर सदस्य विक्रम घिमिरेले इटहरीमा पहिलो पटक मास्क र सेनीटाईजर वितरण गरेर अभियान सुरु गरेका हुन् । नेपालमा भर्खरै सङ्क्रमण देखिन सुरु गरेका अवस्थामा नै उनले कोरोनाबाट बच्ने उपायको बारेमा सचेत गराएका थिए । त्यति मात्रै हैन अघिल्लो लकडाउनको समयमा राहत सङ्कलन र वितरणमा समेत अग्रस्थानमा रहेर काम गरे । नेपाली काँग्रेस इटहरीले गठन गरेको सह-सभापति कोविद जङ्ग कार्कीको नेतृत्वको टोलीमा उनी सक्रिय रहे ।

इटहरी-९ का युवा नेता तथा नगर सचिव विजय केसीले पनि एन्डी कोरोना अभियान चलाएका छन् । ९ नम्बर वाडमा कोरोना सङ्क्रमण फैलिन थालेपछि उनले विभिन्न सामाजिक व्यक्तिको सहयोगमा वाड भरी सेनीटाइजर छर्कने काम सुरु गरेका छन् । कोभिड सङ्क्रमितको घरमा पुगेर हौसला दिने देखी सचेतना जगाउने काममा उनी सहितको टोली सक्रिय छ । सार्वजनिक स्थल तथा कोरोना सङ्क्रमित क्षेत्र आसपास सेनीटाइज गर्ने काम जारी छ ।

अहिले विश्वभरि नै महाविपत्ति आइलागेको अवस्थामा सरकार तथा स्थानीय तहले जनस्तरमा काम गर्न नसकेको हुँदा आफै सक्रिय भएर कोरोना सँग लड्नुपर्ने देवान बताउँछन् । लकडाउनको समय लम्बिँदै जाँदा गरिब र मजदुर जनता धेरै समस्यामा पर्न थालेकोले सचेतना अपनाएर बेलैमा लकडाउन खोल्ने वातावरण सृजना गर्न लागिपरेको उनको भनाइ छ । उनको तर्कमा सहमत हुँदै घिमिरेले भने, युवाहरू सरकारले गर्छ भनेर आस गर्ने भन्दा पनि जनता आफै सचेत नभई केही नहुने रहिछ । अब हरेक युवाले आफू सुरक्षित भएर सचेतना अभियान चलाउनुपर्छ ।

Itahari-Msak-Distribution-2

पहिलो लकडाउनमा खाद्यान्न तथा रकम वितरण गरेको सरकारले यस पटक भने लकडाउन मात्र घोषणा गरेको छ । समस्या विकराल बन्दै गइरहेको अवस्थामा गरिब मजदुरहरू झनै समस्यामा पर्न थालेका छन् । अघिल्लो पटक राहत दिन प्रतिस्पर्धा गर्ने राजनैतिक दलहरू अहिले सुस्त देखिएका छन् ।

नगद सहित चामल दाल र तेल सहयोग गरेको इटहरी काँग्रेस अहिले मौन देखिन्छ । त्यसको सट्टा केही युवा नेताहरूले भने उदाहरणीय कामको सुरुवात गरेका छन् ।