धरान : झापामा बाँसको भाटाले कुटेर आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।

झापा गाउँपालिका-३ बस्ने ७० वर्षीय साइला टुडुको हत्या गरेको अभियोगमा मृतकका २५ वर्षीय छोरा सुनिल टुडुलाई पक्राउ गरेको झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले कपुरीलाई जानकारी दिए ।

घटनाको अनुसन्धान प्रहरी अधिकृत राकेश थापाका अनुसार सुनिलले ८ गते राती ११ बजे बाँसको भाटा प्रहार गरी घाइते बनाएका थिए । घाइते बनाएका साइँलाको दाइने हात भाँचिएको र शरीरका विभिन्न भागहरूमा चोटपटक समेत लागेको थियो ।

तत्काल बोल्न सक्ने अवस्थामा भएकाले स्थानीय मेडिकलमा सामान्य उपचार गरी घाइते उनलाई थप उपचार गर्नेका लागि सुविधा सम्पन्न अस्पताल लाने कुरा भयो । तर आर्थिक अवस्था कमजोर भएकाले सामान्य उपचार गराएर साइँलालाई घरमै राखिएको प्रहरीले जानकारी दिएको छ ।

साइँलाको ९ गते घरमै मृत्यु भएको खबर प्रहरीलाई आए पछि सुनिललाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको थापाले बताए ।

मृतकका घरका २ छोरा रहेको र पक्राउ परेका सुनिल कान्छा छोरा भएको प्रहरीले जानकारी दिएको छ ।
सुनिल लागु औषध प्रयोगकर्ता समेत रहेको एक सामान्य सामूहिक झगडामा एक पटक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।