धरान : धरानमा बुधबार सम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २० पुगेको छ ।

धरान उपमहानगरपालिकाको २० वटा वडा मध्ये धरान १२, १४ र २० नम्बर वडामा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले अहिले साँझ निकालेको डाटा अनुसार सबै भन्दा धेरै धरान-१८ मा २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यसैगरी धरान-१५ मा १७ जना, धरान-१६ मा १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । धरान-१ मा ३ जना, धरान-२ मा २ जना, धरान-३ मा ६ जना, धरान-४ मा १ जना, धरान-५ मा ३ जना, धरान-६ मा २ जना, धरान-७ मा २ जना, धरान-८ मा ८ जना, धरान-९ मा २ जना, धरान-१० मा ६ जना, धरान-११ मा ८ जना, धरान-१३ मा ८ जना, धरान-१७ मा ९ जना र धरान-१९ मा ५ जना सँगै ७४ जना पुरुष र ४६ जना महिला गरी जम्मा १ सय २० जना कोरोना संक्रमित पुगेका छन् ।

धरान उपमहानगरपालिकाले यस भन्दा अघि आज बिहान सम्ममा १ सय ७ जना संक्रमित भन्दै आएकोमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बसौँ देखि काम गर्दै आएका र धरानमै बसोबास रहेका अरू प्रदेश र जिल्लाका कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि धरानकै सङ्ख्यामा जोडिदा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २० पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

धरानमा कोरोना संक्रमित भएका मध्ये विदेशबाट आएका ३६ जना, धरानबासी समुदायका ६० जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका २४ जना रहेका छन् । अहिले धरानमा अस्पतालको आइसोलेसनमा २७ जना, होम आइसोलेसनमा ३६ जना छन् भने  ५४ जना संक्रमित निको भईसकेका छन् ।

धरानमा ३ जनाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको छ । मृत्यु हुने तीनै जना धरान-१५ निवासी रहेका छन् ।
धरानमा कोरोना समुदायस्तरमै फैलिएको हो की होइन भन्ने बारेमा भने अहिले सम्म आधिकारिक जानकारी बाहिर आएको छैन । तर यो तथ्याङ्कले भने समुदायमा ६० जनामा कोरोना सङ्क्रमण भएकाे देखाएको छ ।

धरानमा समुदायमा कोरोना सङ्क्रमण नहोस् भनेर साउन २२ देखि धरान उपमहानगरपालिका आफैले लकडाउन घोषणा गरेको छ । बुधबार फेरि दोस्रो पटक धरानमा लकडाउन थपेर भदौ १७ गते सम्म पुर्‍याएको छ ।

बुधबार १०५ जनाको स्वाब लिइयो
धरान-१७ स्थित एन्फा क्वारेनटाइनमा  १ सय ५ जनाको स्वाब सङ्कलन गरिएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार एन्फा क्वारेनटाइनमा बस्ने, होटेल र होम क्वारेनटाइनमा बस्ने, कनट्र्याक्ट ट्रेसिङ, नेपाली सेना, धरान मेडिकल टिम, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माईक्रोबायोलोजी विभागका केही विद्यार्थीहरू गरी २८ जना महिला र ७७ जना पुरुष गरी जम्मा १ सय ५ जनाको स्वाब सङ्कलन गरिएको हो ।

सङ्कलन गरिएको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पठाइएको प्रमुख मेहेताले जानकारी दिए ।

वडागत विवरण: 

Corona-Data1 Corona-Data-2