पथरी : रोपेको धान मर्न थालेपछि पूर्वी मोरङका किसान चिन्तित वनेका छन् । धान रोपेको २ महिना पछि गभारोको कारण धान मर्न थालेको हो । किराले गाँज काट्ने र धान मर्ने समस्याले यस वर्ष धानको उत्पादन कम हुने किसानहरूको अनुमान रहेको छ ।

पथरीशनिश्चरे-३ का किसान यादव कोइरालाका अनुसार रोपिएको धानको गुवो काटिएको देखिएको छ । धान सेतो हुने, मर्ने र गुवो काटिने समस्या देखिएको किसानहरूको भनाइ छ ।

खेतमा कीटनाशक औषधी प्रयोग गरिए पनि नियन्त्रणमा आउन सकेको छैन । रासायनिक मलको अभावका कारण पनि धान सेतो भएको कृषि प्राविधिकहरू बताउँछन् ।

पथरीशनिश्चरे नगरपालिकाको कृषि शाखा प्रमुख सावित्री कार्कीका अनुसार नगरको २,३,१० र ७ का किसानले धान मरेको जानकारी दिएको र त्यसकालागी औषधी सिफारिस गरिएको बताइन् । कार्कीका अनुसार धान बालीमा गभारो र डढुवा रोग लागेको देखिएको छ ।

खेतमा गुवो काटिएको देखिपछि के गर्ने भन्ने सल्लाह र सुझाव लिन बन्दाबन्दी तथा निषेधाज्ञाले पनि किसानलाई समस्या बनाएको छ ।

यो रोग नियन्त्रणका लागि किसानले गभारो माउ पुतली र फुलको थुप्राहरू पहिचान गरी त्यसलाई नष्ट गर्नुपर्ने, प्रकाश/उज्यालोको पासो थापेर माउ पुतली नष्ट गर्नुपर्ने, फेरोमोन ल्युपर नामक विषादी प्रयोग गर्नुपर्ने, ट्राकोग्राम परजीवीहरूको प्रयोग गर्नुपर्ने र धान उत्पादन क्षेत्रको जैविक विविधता तथा कृषि पर्यावरण खल्बलिन नदिने गरी रासायनिक विषादी प्रयोग गर्नुपर्ने कृषि प्राविधिक बताउँछन् ।

धानमा देखिएको रोगको नियन्त्रण गर्न नसके धान उत्पादन घट्ने र धानको आयात गर्नु पर्ने विज्ञहरू बताउँछन् ।