धरान : धरान २० साबिक विष्णुपादुकाको चिण्डेडाडा देखि मास्तिरको टोड्के स्थित नवनिर्मित भ्यु टावर क्षेत्रको जग्गा विवादमा आज स्थानीय बिच झडप भएको छ ।

भ्यु टावर निर्माण भएको आसपासमा जर्वजस्ती टहरा बनाउने पक्षका समूहले बनाउन नहुने भन्ने समुहकाहरु माथि कुटपिट गरेका छन् । जर्वजस्ती टहरा बनाउने समूहले कुटपिट गर्दा स्थानीय केशव राई घाइते भएका छन् । उनको टाउको, ओठमा चोट लागेको छ । जर्बजस्ती टहरा बनाउने पक्षका विजय तामाङ लगायतका युवाहरूले एक्कासी आक्रमण गरेको घाइते राईले बताएका छन् ।

टोड्के स्थित रामबहादुर राई र विष्णु राईको जग्गामा विजय तामाङले टहरा बनाउँदै थिए । यस भन्दा अघि पनि २० नम्बर वडाका वडा सदस्य कर्ण तामाङले टहरा बनाउन सुरु गरेका थिए । अर्काको जग्गामा जर्वजस्ती टहरा बनाएको भन्दै यस भन्दा अघि पनि टहरा बनाउन रोकिएको थियो भने भौतिक संरचना भत्काइएको थियो ।

केही दिन देखि सोही क्षेत्रमा फेरी टहरा निर्माण भइरहेकोले आफूहरूले यहाँ यसरी जर्वजस्ती टहरा बनाउन हुँदैन भन्दा आफूमाथि आई लागेको र आफूलाई घाइते बताएको घाइते केशव राईले बताए । उनी अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् ।

टोड्केमा आज भएको झडपमा घाइते भएका केशव राईले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनका अनुसार २,३ जनाको नाममा जाहेरी परेको छ अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।