झापा : झापाको झापा गाउँपालिकामा हिजो देखी उत्पन्न तनाव साम्य भएको छ । मृतक पक्षको माग सम्बोधन गर्ने सहमतिपछि झापा गाउँपालिका-३ का रमिकुल आलमको शव आफन्तले बुझेका छन् ।

बिहीबार प्रमुख जिल्ला अधिकारीको समेत उपस्थितिमा भएको वार्तामा मृतक पक्षको माग सम्बोधन गर्ने सहमति भएपछि मृतकका आफन्तले शव बुझेका हुन ।

वार्तामा मृतक परिवारलाई न्यूनतम १० लाख रुपैयाँ क्षतिपूर्ति दिने, घटनामा दोषी देखिएमा सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्ने, किरिया खर्च बापत ५० हजार रुपैयाँ उपलब्ध गराउने, मृतकका छोराछोरीको पठन पाठनका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गर्ने लगायतका माग सम्बोधन गर्ने सहमति भएको जनाइएको छ ।

मृतक पक्षले राखेका ११ वटा मागमध्ये शहीद घोषणाको माग भने अस्वीकार गरिएको वार्तामा सहभागी नेकपाका नेता रुद्र बजगाईँले जानकारी दिए ।

घटनाको छानबिनकालागी गृह मन्त्रालयले झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । सो समितिले घटनाको छानबिन गरी सुरक्षाकर्मी दोषी देखिएमा कारबाहीका लागि सिफारिस गर्ने जनाइएको छ ।

वार्तामा सबै राजनीतिक दलका प्रतिनिधि, सांसदहरू, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, मृतक परिवारका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रहरीले पक्राउ गरेकाहरूलाई जिल्ला ल्याउने क्रममा स्थानीयवासीले अवरोध गर्दा प्रहरीले चलाएको गोली लागेर सोही स्थानका ३८ वर्षीय रमिकुल आलमको बुधवार साँझ मृत्यु भएको थियो ।