धरान :  भारत पठाउन ठिक्क पारेर बाख्राको खोरमा लुकाइराखेको ४ बोरा गाँजा र खुकुरी सहित उदयपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उदयपुरको ताप्ली गाउँपालिका एरियाबाट सङ्कलन गरेर उदयपुर गढी गाउँपालिका-७ ठुलो तिल्केनी बस्ने सन्त बहादुर तामाङको बाख्राको खोरमा लुकाई छिपाई राखेको अवस्थामा ४ बोरा गाँजा बरामद गरिएको उदयपुर प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट १ थान खुकुरी समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा उदयपुर ताप्ली गाँउपालीका १ ओख्ले बस्ने २९ वर्षीय जयराम भन्ने पुष्प बहादुर मगर र सोही गाँउपालीका ३ बस्ने ४३ वर्षीय राम बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई लागुऔषध मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाएको साथै संलग्न अन्य व्यक्तिहरूको समेत खोज तलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।