झापा : मूलक कोरोना भाइरसको महामारीको चपेटामा छ । तर कृषकहरूमा भने यतिबेला कोरोनाको भन्दा बढी पिर युरिया मलको छ । रोप्नेबेलामा डिएपी मलको अभाव भोगेका कृषकहरूले यतिबेला युरिया मलको चरम अभाव भोग्नुपरेको छ ।

झापा शिवसताक्षी वडा नं. ९ का वडा सदस्य मन बहादुर लिम्बु अभावका बेला सरकारले धेरै नौटङ्की गरेको भन्दै आक्रोश व्यक्त गर्छन् । शिवसताक्षी नगरमा बिहीबार ७, ९, १० र ११ वडाका करिब ३ सय बढी कृषकहरू मल लिन बिहान ५ बजेदेखि नै शिवसताक्षी-११ स्थित जोरपोखरी कृषि सहकारी संस्थाको मल बिक्रेताको पसल अगाडी जम्मा भएका थिए ।

बिहीबार त्यहाँ मल बाढ्ने भनेपछि कृषकहरू बिहान झिसमिसेबाटै लाइनमा आएर बसे । उनीहरूलाई कोरोनाको भन्दा बढी चिन्ता युरिया मल नपाएकोमा छ ।

हुन पनि हो, रोप्ने बेला डिएपी मलको अभाव अहिले आएर युरिया मलको अभाव । कृषकका समस्यै समस्या छन् । कृषकहरूलाई मुख्य समयमा चाहिने युरियाकालागि सरकारले गरेको उदासीनताले भोलि के होला ? त्यो सहजै अनुमान लगाउन सकिन्छ भन्दै स्थानीयहरू गुनासो गरिरहेका थिए । साल्ट ट्रेडिङ कर्पोरेसन, बिर्तामोड मार्फत ५० बोरा युरिया मल उपलब्ध भएपछि नगरका ७, ९, १० र ११ वडाका करिब ३ सय बढी कृषकहरू मल लिन उपस्थित भएका थिए ।

बिहान ५ बजे नै युरिया लिन पुगेका शिवसताक्षी ९ का पदम बास्कोटाले भने, “मेरो डेढ बिगाहा जमिन छ,तिन घण्टा भयो लाइन बसेको, त्यसमा बाँडिँदै गरेको ५ केजी मलले के गर्नु ? सब्जी बारीलाई नै पुग्दैन ।
स्थानीय सरकारका जनप्रतिनिधिहरुले हामी कृषकलाई पुग्ने गरी मल दिन्छौँ भनी आश्वासन देखाएर भोट मागे । यस्तो बेलामा उनीहरूको व्यवहारले पक्कै चित्त दुखाएको छ । नभएको पनि यो बेला १० केजीसम्म मल उपलब्ध गराए राहत हुन्थ्यो ।”

त्यस्तै, बिहानै मल लिन पुगेका अर्का कृषक जयप्रकाश पौडेलले थोरै मल ल्याएर स्थानीय प्रशासनले झारो टार्ने कार्य गरेकोमा आक्रोश व्यक्त गरेका छन् । उनले ५ किमी टाढाबाट मल लिन आएका कतिपयले रित्तो फर्किनु पर्ने अवस्था देखेपछि हाहाकारका बेला सबैलाई पुग्ने गरी मल उपलब्ध गराउनु पर्ने बताए ।