धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत दुई जना जना कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार झापाको कमल गाउँपालिकाका–३ केर्खाका ८३ वर्षीय वृद्ध र मोरङको बेलबारी नगरपालिका ५ बस्ने ५६ वर्षीय महिलाको मृत्यु भएको हो ।
झापाका ८३ वर्षीय वृद्धलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि एक साताअघि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो ।

उपचारका क्रममा उनको आज बिहान ३ : ४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिएका छन् ।
झापाको वि एन्ड सी अस्पतालबाट रेफर गरिएका उनमा भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । समुदाय तहमा कोरोना सङ्क्रमण फैलिएपछि ती वृद्ध पनि सङ्क्रमणमा परेका हुन् ।

उनको परिवारका एक जना सदस्यमा पनि सङ्क्रमण देखिएको र उनलाई मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ । झापाको केर्खा बजारमा अहिलेसम्म पाँच जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमण देखिएका क्षेत्र वरपरका बासिन्दाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको बताइएको छ ।

यसै गरी आज बिहान ३ बजेर १५ मिनेटमा अर्को कोरोना संक्रमित मोरङको बेलबारी ५ बस्ने ५६ बर्षीया महिलाको पनि मृत्यु भएको छ ।
कोशी अस्पताल विराटनगरबाट रेफर गरिएका उनमा भदौ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको बताइएको छ । दुवै मृतकको शव व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको बताइएको छ ।
यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमण भएर उपचार गर्दा गर्दै मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।