धरान : धरानमा आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना नर्स र एन्फा क्वारेनटाइनमा खटिएका दुई जना नेपाली सेना सहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज सङ्क्रमण पुष्टि हुनेमा धरान १७ को एन्फा क्वारेनटाइनमा खटिएका ३४ र २७ वर्षीय पुरुष नेपाली सेना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स, सर्जरी वार्डमा कार्यरत हेल्थ एडको १९ बर्षीया छोरी, धरान १७ का थप ५ जना कनट्र्याक्ट ट्रेसिङका ५९ बर्षीया महिला, ३३ बर्षीया महिला, ३१ बर्षीया महिला र २९ वर्षीय २ जना पुरुष गरी जम्मा ९ जनामा कोरोना सङ्क्रमण भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

बीपीका बाहेक अरू ७ जनाको भदौ ७ गते एन्फा क्वारेनटाइनमा स्वाब लिइएको थियो । यो सँगै धरानमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३४ पुगेको छ भने धरान १५ का ३ जनाको मृत्यु भएको छ ।