धरान : सुनसरीमा आज १६ जना प्रहरी, दुई नेपाली सेना सहित ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज थपिएका कोरोना सङ्क्रमितमा १३ जना जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बताए । थप अरू ३ जना प्रहरी गरी १६ जना प्रहरीमा आज कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन् । यसै गरी १ जना इनरुवा नगरपालिकाका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित १६ प्रहरी मध्ये ११ जना पुरुष र ५ जना महिला रहेको बताइएको छ ।

यसै गरी आज थपिएकाहरूमा धरान उपमहानगरपालिकामा २ जना नेपाली सेना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १ जना नर्स, एक जना प्रतिष्ठानका कर्मचारीको छोरी र अरू थप ३ जना महिला, २ जना पुरुष गरी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिकामा २ पुरुष २ महिला सहित ४ जना, कोशी गाउँपालिकामा ३ जना पुरुष, इटहरी उपमहानगरपालिकामा ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ७७ पुगेको छ भने २ सय ३५ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । यसमध्ये ३ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । ३ जनाको मृत्यु भएको छ ।