झापा : झापाको कन्काई नगरपालिका वडा नं ४ मा रहेको सर्मपण भवनमा केहि दिनभित्रै पिसिआर परिक्षण ल्याव सञ्चालनमा आउँने भएको छ । ल्याब सञ्चालनकालागि अन्तिम तयारी समेत पूरा भइसकेको छ ।

झापाको कन्काई नगरपालिका वडा नं ४ मा रहेको समर्पण भवनमा परीक्षण ल्याबका लागि आवश्यक विद्युतीय सामग्री जडानको काम समेत सम्पन्न भईसकेको छ । जनस्तरबाट स्थापना भएको ल्याबका लागि विभिन्न संघसंस्था, व्यक्ति, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरबाट सहयोग हुने क्रम निरन्तर भईरहेको छ ।

सरकारबाट समेत ल्याब सञ्चालन र व्यवस्थापनका लागि अनुमति प्राप्त भइसकेको छ भने कनकाई नगरपालिकाले ३ जना कर्मचारी नियुक्ती गरी मेची अञ्चल अस्पतालमा पठाईसकिएको र थप १ कर्मचारी थप गरिने नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए ।

पोखरेलका अनुसार नियुक्ति गरिएका कर्मचारीहरुलाई मेची अञ्चल अस्पतालमा तालिम दिएर प्राविधिकको रुपमा समर्पण भवनमा स्थापना गरिएको पिसिआर ल्याबमा खटाइने छ ।

ल्यावका लागि चाहिने सम्पूर्ण भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन भईसक्दा समेत ल्याव सञ्चालनमा अझै ढिलाई भईरहेको बिषयमा प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीसँगको हाम्रो जिज्ञाशामा मन्त्री कार्कीले एक दुई दिन भित्रैमा सो ल्याव सञ्चालनमा आउँने बताएका छन् ।

सो ल्यावको सम्पूर्ण व्यवस्थापन मेची अञ्चल अस्पतालको जिम्मेवारीमा रहेको हुँदा चाँडोभन्दा चाँडो परीक्षण सुचारु गर्न अस्पतालको समेत ध्यानाकर्षण गराउने कार्य समेत भईसकेको बताईएको छ ।

झापाको मुटुमा रहेको धार्मिक तथा पर्यटकीय स्थलमा उद्घाटनको पर्खाइमा रहेको ल्याबले झापावासी लगायत पूर्व क्षेत्रकै बिभिन्न जिल्लको कोरोना परिक्षणको रिपोर्ट छिटो आउँने बिश्वास लिईएको छ ।

सो ल्यावको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक साता अघि निरीक्षण तथा अनुगमन समेत गरेका थिए भने ल्याव चाडै सञ्चालन गर्न पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पटक पटक आग्रह गर्दै आईरहेका थिए ।

स्थानीयस्तरबाट समेत उक्त ल्याव चाँडै सञ्चालन गरिनुपर्ने माग उठिरहेको छ ।