काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री परिवर्तन नहुने संकेत गरेका छन् ।

२०७७ भदौ १३ गते पत्रकार ऋषि धमलासँगको एक अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्री परिवर्तन नहुने संकेत गरेका हुन् ।

'प्रदेश नं. १  र वागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने चर्चा व्यापक छ । के यो सत्य हो ?'  भन्ने प्रश्नको घुमाउरो जवाफ दिँदै ओलीले मुख्यमन्त्री परिवर्तन नहुने संकेत गरेका छन् ।

‘स्थानीय तहको निर्वाचन हुन डेढ वर्ष जति बाँकी छ । आमनिर्वाचन भएपछि प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि परिवर्तन हुनसक्छ,’ प्रधानमन्त्री ओलीले मुख्यमन्त्री परिवर्तनबारे राखिएको जिज्ञासाको जवाफ दिँदै भनेका छन् ।

पछिल्लो समय प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्री परिवर्तन हुने चर्चा छ । खासगरी वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग सत्तारूढ नेकपाकै सांसदहरू रुष्ट छन् । शक्तिकेन्द्रबाहेक अरू कसैको कुरा नसुन्ने आरोप उनीमाथि लागेको छ ।

स्रोतका अनुसार पौडेलको मन्त्रिपरिषद्कै सदस्यहरूले त सामूहिक राजीनामा दिने चेतावनी नै दिइसकेका छन् । नेकपा प्रदेशसभाका ८० सांसदमध्ये ६० भन्दा बढीले मुख्यमन्त्री पौडेलको बर्खास्ती माग गर्दै हस्ताक्षर संकलन गरिसकेका छन् ।

यसरी संकलित हस्ताक्षरको पहिलो नम्बरमा अष्टलक्ष्मी शाक्य, दोस्रोमा राजेन्द्र पाण्डे र तेस्रोमा डोरमणिकै मन्त्रिपरिषदका सदस्य आन्तरिक मामिला मन्त्री शालिकराम जम्कटेलले हस्ताक्षर गरेको बताइन्छ । उक्त हस्ताक्षर बोकेर अहिले एउटा समूह प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्डनिवास खुमलटार धाइरहेका छन् ।

डोरमणिविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस गर्न नपरोस् भन्ने अभिप्रायले हस्ताक्षर संकलन गरेर दबाब बढाए पनि प्रधानमन्त्री ओली डोरमणिकै पक्षमा खुल्ने संकेत देखिएको छ । यसले वागमती प्रदेशमा नेकपाभित्रको विवाद उत्कर्षमा पुग्ने कतिपयको अनुमान छ ।

साँघु न्यूज बाट