धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सेक्युरिटी, कर्मचारी र प्रतिष्ठान बाहिरका २ जना सहित आज धरानमा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज सङ्क्रमण पुष्टि भएकाहरूमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सुरक्षागार्ड ३८ वर्षीय पुरुष, प्रतिष्ठानकै कर्मचारी ४७ वर्षीय पुरुष, धरान १८ को ५२ वर्षीय पुरुष, धरान १० पुतलीलाईन बस्ने प्रतिष्ठानको स्टाफ क्वाटरमा आउजाउ गरी रहने एक जना ३३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा आज संक्रमित हुनेहरूको स्वाब लिइएको थियो । संक्रमित हुनेहरू मध्ये दुई जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र कार्यरत हुन भने दुई जना पुरुष प्रतिष्ठान बाहिरका हुन् । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ४४ पुगेको छ ।