धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक एक १० बर्षीया बालिकाको (ओभरी) अण्डाशयमा भएको ट्युमरको दूरबिन प्रविधिबाट सफलतापुर्वका शल्यक्रिया गरिएको छ ।

एक हप्ता अगाडि पेटको समस्या लिएर प्रतिष्ठान आएकी बालिकाको सिटी स्क्यान गर्दा उनको पाठेघरको दुवै अण्डाशयको १०×१५ सिएम को ट्युमर रहेको पुष्टि भएको थियो । यस लगत्तै बिरामीलाई अप्रेसनको मिति तय गरेर दूरबिन प्रविधिबाट अप्रेसनको सल्लाह दिएको थियो । डा अजय अग्रवाल र डा मदन खड्का को टोलीले सफल शल्यक्रिया गरेका हुन् ।

प्रतिष्ठानमा यस अघि यस किसिमको शल्यक्रिया बच्चामा भएको छैन । दूरबिन प्रविधि वाट गरिने शल्यक्रिया सामान्य तय महँगो हुने गर्दछ । यस प्रविधि मा विशेष उपकरण र सिपको आवश्यकता चाहिन्छ । बालिकाको अवस्था सुधारोन्मुख रहेको छ र आज डिस्चार्ज हुने शल्यक्रियामा संलग्न डा. अजय अग्रवालले बताए ।

दूरबिन प्रविधिबाट शल्यक्रिया सम्बन्धी भर्खरै डा. अग्रवालले तालिम लिएर आएका हुन् । बालिका सानो भएकोले चिरेर शल्यक्रिया गर्दा दाग देखिने र जोखिम पनि हुने भएकोले १० वर्षीय बालिकामा प्रतिष्ठानमा पहिलो पटक दुर्लभ शल्यक्रिया गरिएको र सम्भवतः देशकै पहिलो पनि हुन सक्ने डा. अजय अग्रवालले बताए ।