धरान : सुनसरीमा आज थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेहरूमा धरान उपमहानगरपालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेक्युरिटीमा कार्यरत ३८ वर्षीय पुरुष, प्रतिष्ठानकै कर्मचारी ४७ वर्षीय पुरुष, धरान १८ को ५२ वर्षीय पुरुष, धरान १० पुतलीलाईन बस्ने प्रतिष्ठानको स्टाफ क्वाटरमा आउजाउ गरी रहने एक जना ३३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

यस्तै इटहरी उपमहानगरपालिकामा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
भदौ १० गते गरिएको स्वाब परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको इटहरी अस्पतालले जनाएको छ । संक्रमित हुनेहरूमा इटहरी–२ का ४२ वर्षीय पुरुष, इटहरी–५ का ३४ वर्षीय पुरुष, इटहरी–६ का ४३ बर्षीया महिला, इटहरी–९ का ११ महिने बालिका, २४ वर्षीय पुरुष, इटहरी–२० का १० वर्षीया बालिका र २० बर्षीया महिला रहेका छन् ।

यसै गरी इनरुवा नगरपालिकामा पनि आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इनरुवामा १ महिला र ५ जना पुरुष गरी ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय १९ पुगेको छ भने २ सय ५० जना निको भइसकेको स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले बताइन् । सुनसरीमा अहिले सम्म ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।