धरान : धरान १३ फुस्रेका १२ जना नेपाली सेना सहित अहिले साँझ धरानमा थप १३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार अस्ति शुक्रवार एन्फा क्वारेनटिनमा लिइएको ४१ जनाको स्वाब मध्ये आज धरान १३ फुस्रे आर्मी क्याम्पमा कार्यरत ३४ बर्षीय ५ जना, ३० वर्षीय २ जना, ३५, ३६,२६,२३ र ३१ वर्षीय गरी जम्मा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरू मध्येमा केहीलाई ज्वरो समेत आएकोले उनीलाई परीक्षण गर्न एन्फा क्वारेनटिनमा आएका १४ जना मध्ये १२ जनामा सङ्क्रमण देखिएको हो ।

यसै गरी आज धरान १२ का ७६ बर्षीया एक जना बृद्धा महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनका छोरामा पनि आज बिहान कोरोना पोजेटिभ देखिएको थियो । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी हुन् । उनीहरू दुवै जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड आइसोलेसनमा पठाइएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

यो सँगै आज एकै दिन धरानमा बिहान ४ जना, धरान १७ मा २ जना र साँझ १४ जना गरी जम्मा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ जना मध्ये एकै परिवारका धरान १७ का २ जनाको आज मृत्यु भएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ५९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।