धरान : धरान १७ मा पछिल्लो समय कोरोना संक्रमित ट्राभल हिस्ट्री नभएका समुदायकै भेटिन थाल्नुको साथै आज एकै परिवारका आमा छोराको मृत्यु भएको छ ।

मृतक आमा छोरा धरान बाहिर कहीँ कतै नगएको पाइएको छ । यस भन्दा अघि संक्रमित एक परिवारको आमने सामने घर भएको कारण उनीहरूमा कोरोना सङ्क्रमण भएको हो की भन्ने आशङ्का गरिएको छ । धरान १७ मा यस भन्दा अघि पनि खासै ट्राभल हिस्ट्री नभएका आमा छोरी र सोही घरका सासूमा पनि कोरोना सङ्क्रमण भएको थियो ।

उनीहरू अहिले होम आइसोलेसनमै बसेका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । संक्रमित परिवार सँग यस भन्दा पहिले बाक्लै आउजाउ आज मृत्यु हुने परिवार सँग भएको बताइएको छ । तर कोरोना सङ्क्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेपछि भने आउजाउ बन्द नै छ । साउन २२ देखि धरानमा लकडाउन छ । उनीहरू कसरी संक्रमित भए भन्ने कुरा अझै एक्किन भएको छैन ।

धरान १७ मा पछिल्लो समय लकडाउन धरान उपमहानगरपालिकाले जारी गरे पनि लकडाउनको उल्लङ्घन व्यापक भएको स्थानीय बुद्धिजीवीहरू बताउँछन् । धरान १७ मा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र भएको भन्दै सरकारले समेत स्वास्थ्य मापदण्ड बनाएको र धरान उपमहानगरपालिकाले समेत लकडाउन गरेको बेलामा वडामा धेरै जमघटका कार्यक्रमहरू भए । कतै बिहे भोज त कहीँ मलामी अनि बर्थडे पार्टीहरू बाक्लै भए । यसै कारण धरान १७ मा समुदायमा कोरोना सङ्क्रमण फैलिएको स्थानीय अगुवा नागरिक समाज र बुद्धिजीवीले बताएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

धरान १७ मा मात्रै अहिले सम्म १४ जना कोरोना संक्रमतिको सङ्ख्या पुगेको छ । एकै परिवारका आमा छोराको कोरोनाकै कारण मृत्यु भएपछि अहिले १७ नम्बर वडालाई सिल गरिएको छ । स्थानीय सरकारले कोरोना सङ्क्रमणको जोखिमबाट सर्वसाधारणलाई जोगाउनका लागि लकडाउन घोषणा गरे पनि सर्वसाधारणको अटेरीपनले कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिरहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

धरानमा साउन २२ गते देखि लकडाउन घोषणा गरिएको भए पनि अहिले धरानमा लकडाउन जस्तो अवस्था पटकै छैन । पछिल्लो समयमा आएर त धरानको मुख्य बजार क्षेत्रकै पसलहरू खुल्न थालेका छन् । यसले के प्रस्ट पार्छ भने धरानमा कोरोना सँग कोही पनि डराउँदैनन् । यस्तै हेलचेक्राईले विश्वका विभिन्न स्थानमा ठुलै महामारी खेप्नुपरेका थुप्रै उदाहारणहरु रहेको विज्ञहरू बताउँछन् ।

धरानमा सर्वसाधारण दैनिक ज्याला मजदुरी गर्नेहरूलाई राहतको व्यवस्था गरेर १५ दिन अत्यन्तै कडा लकडाउन गर्न सकियो भने मात्रै धरानमा कोरोना सङ्क्रमणमा न्यूनीकरण हुन सक्ने छ यदि होइन भने डेंगु जस्तै हरेक घरमा संक्रमित हुने स्वास्थ्यविज्ञहरु बताउँछन् । संक्रमित बढ्नुको साथै मृत्यु हुनेको सङ्ख्या पनि थपिने र धरानको अवस्था झन् भयावह हुने सङ्केत पछिल्लो घटनाक्रमले देखाउन थालेको छ । सर्वसाधारणको अटेरीपनले गर्दा धरानमा कोरोना संक्रमणदर घटाउन नसकिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कतिले त आफ्नो स्वास्थ्यमा समस्या देखिए पनि उपचारमा नजाने भएकोले झन् जोखिम बढेको छ । स्वास्थ्यमा समस्या आए तुरुन्त उपचारमा जान स्वास्थ्यकर्मीहरू सुझाउँछन् । धरान १७ मा करिब हप्ता दिन अघि देखि स्वास्थ्यमा समस्या देखिएको भए पनि अस्पताल नगएको कारण आज उनीहरूको मृत्यु भएको बताइएको छ । त्यसैले यति बेला हेलचेक्राई र अटेरीपन होइन आफू सुरक्षित हुने प्रयास गरौँ र सुरक्षित रहौँ ।

धरानमा अहिले सम्म आई पुग्दा १ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ ।