धरान : धरान उपमहानगरपालिकामा आज बिहान थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब सङ्कलन गरिएकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

आज संक्रमित पुष्टि हुनेमा धरान ५ का ३६ बर्षीया महिला, धरान १८ ठेगाना लेखिएका ४२,७२,५३,४४ बर्षीया महिला र एक जना ४७ बर्षीय पुरुष रहेका छन् । यसै गरी धरान १० का २२ वर्षीय पुरुष र धरान १२ का १७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितहरूको अहिले धमाधम विवरण लिने काम भइरहेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।