धरान : इटहरीमा सय बेडको आइसोलेसन निर्माणलाई तीव्रता दिइएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,सशस्त्र र नेपाली सेनाका प्रतिनिधि,उद्योग वाणिज्य सङ्घ समेतको उपस्थितिमा बसेको बैठकले इटहरी ९ रङ्गशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै सञ्चालनमा ल्याउने गरी काम गरिने निर्णय भएको छ । इटहरीमा कोरोना संक्रमित वढदै गएकाले लक्षण नदेखिएका सङ्क्रमितहरूलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो ।

आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी,विद्युत लगायतका विभिन्न निकायहरूको सहयोगमा खानेपानी र विद्युतिकरणको कार्य भइरहेको छ । आइसोलेसन निर्माण र सञ्चालनमा ठुलो खर्च आवश्यक हुने भएकाले विभिन्न सङ्घसंस्था र दाताहरू सँग सहयोगको आग्रह गरिएको छ । बैठकमा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य सङ्घको तर्फबाट तीन महिनाका लागि खाद्यान्न सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गोर्खा वेलफेयरले पाँच सय लिटर क्षमताको पानी ट्याङ्गकी जडान गरिदिएको छ ।

आइसोलेसन सञ्चालनका लागि प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा मुल व्यवस्थापन समिति निर्माण गरिएको छ । यसै गरी वडाध्यक्षहरू भूपेन्द्र बरालको संयोजकत्वमा वडाध्यक्षहरू चन्द्र भट्टराई, दीपक गौतम, शिव नारायण चौधरी,मणिराम श्रेष्ठ र कार्यपालिका सदस्य गौरी परियार,उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल,महासचिव पीताम्बर पोखरेल र उपमहानगरका कर्मचारी महेश सुवेदी सदस्य सचिव रहेको उपसमिति गठन गर्ने निर्णय भएको छ । यसअघिनै शिक्षा महाशाखाका अधिकृत फाल्गुनी काफले संयोजकत्वको निर्माण समिति सक्रिय छ ।