धरान : गत २०७६ पुस १९ गते राती बालबालिका खोज तथा अनुसन्धान केन्द्र काठमाण्डौंले ३१ बालबालिकाको उद्धार गरी (सेभ द चिल्ड्रेन) हाउसमा राख्ने गरी लगिएको थियो । त्यसपछि धरान उपमहानगरपालिकाले सडक आश्रितहरूलाई माया घर नेपालको जिम्मा लगाएको थियो ।

माया घरले जिम्मा लिएका मानवहरू लुकिछिपी भागेर अहिले फेरी सडकमा आएर सडकलाई नै आश्रायस्थल बनाइरहेका छन् । फेरी सडकमा आएका सडक मानवलाई व्यवस्थित गर्ने विषयमा स्थानीय सरकार र प्रशासन एक अर्कालाइ जिम्मेवारी पन्छाउँदै आरोप प्रत्यारोप गरिरहेका छन् ।

समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलने नदिने, दीर्घकालीन व्यवस्थापन गर्ने र धरान नगरलाई सडक आश्रित मानव रहित नगर बनाउने प्रतिबद्धता जनाउँदै धरान उपमहानगरपालिकाले यही साउन १ गते देखी ८३ जना सडक मानवलाई माया घर नेपालको जिम्मा लगाएको थियो । सबै सडक मानवको पिसीआर परीक्षण गरी माया घरले गाँस ,बास ,कपास, रेखदेखका साथै व्यवस्थापन गरिरहेको छ ।

नगरपालिकाले उद्धार तथा व्यवस्थापन गरी भवनमा राखिएका सडक मानवहरू भवनको घरायसी वातावरणमा तथा रहन सहनमा भिज्न नसक्दा वा व्यवस्थापनमा कमजोरीपन हुनुका कारण सडक मानवहरू पुनः सडकमा आएका छन् । यसरी उनीहरू फेरी सडकमै आएपछि भोको पेट भर्नकालागी बालबालिका आपराधिक क्रियाकलापमा समेत संलग्न हुन थालेको प्रहरीको भनाइ छ ।

पुन: सडकलाई आश्रय स्थल बनाइरहेका सडक मानवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा धरान उपमहानगरपालिका मेयर तिलक राईसँग कुरा गर्दा सडक मानवको व्यवस्थापनको जिम्मा उपमेयरलाई दिएको बताउँछन् ।

उपमेयर मञ्जु भण्डारीसँग यसै विषयमा कुरा गर्दा सडक मानव राख्ने आश्रय स्थल हामीले बनाएका तर पुनःभानुचौकको सडकलाई आश्रय बनाएकाहरूलाई प्रहरी प्रशासनले रमिता हेरेको, मौन बसेको , खेदाएर कराउने गर्नुपर्ने अझ बिस्कुट तथा फलफूल दिने गरेकाले उनीहरूलाई अझ सडकमा बस्ने अभिप्रेरणा मिलेको उनी बताउँछिन् ।

यस विषयमा स्थानीय सरकार प्रहरी प्रशासनहरू सँग कुरा गर्दा व्यवस्थापन गर्ने भन्दा एकले अर्कालाई जिम्मेवारी पन्छाउने गरेकाे देखिन्छ । प्रहरी प्रशासन भने हाम्रो काम शान्ति सुरक्षा दिने, दुर्घटनामा कमी ल्याउने, लकडाउनको उलङ्घन हुन नदिने, नाका-नाकामा चेक गर्ने भएकाे र सडक मानवको ठेक्का लिने कार्य प्रशासनको क्षेत्रको जिम्मेवारीमा नपर्ने बताउछ ।

प्रहरीले रमिता हेरेको भनिरहँदा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले यस विषय प्रहरी गम्भीर रूपमा लागेको बताए । भानुचोकमा ड्युटी गर्ने सबैलाई सडक बालबालिकाको आश्रय नदिनु भन्ने गरेको छु  तर, जान चैँ कहाँ जानु भन्ने ? एक दिन भन्यो भोलि फेरी आइहाल्छन् । शान्ति सुरक्षाको काम प्रहरीको हो ।

धरान उपमहानगर नगरपालिकाका नगर प्रहरी प्रमुखका विष्णु कोइराला यस विषयमा भने “सडकलाई दिनरात आश्रय स्थल बनाएका मानवलाई मास्क पन्जा लगाएर सङ्क्रमणको अवस्थामा उपमहानगरले भने झैं सजिलो गरी उठाउन उद्धार गर्न नसकिने अवस्था छ" ।

सशस्त्र प्रहरी बल धरानका डिएसपी सुमन पोखरेल भने यस विषयमा प्रहरी प्रशासनलाई मात्र दोष दिन नमिल्ने बत्ताउँछन् । उनले भने “सडक मानवहरूलाई देख्ने बित्तिकै पक्राउ गर्ने कुरा हुँदैन लकडाउन छ । परिचय हामीलाई आउनु पर्‍यो को हुन सडक मानव ? भवनबाट भागेको समयमा खबर आउनु पर्‍यो । अनि खोजतलास गरी उद्धार गर्र्छाै तर, मौखिक हैन नगरपालिकाले श्रेणीगत रूपमा बुँदागत निर्णय गरी लिखित कागज दिनुपर्छ । सँगसँगै गाडी,जनशक्ति र कोरोना महामारीमा चाहिने स्वास्थ्य मापदण्डका सामग्री उपलब्ध हुनु पर्‍यो ।

माया घर नेपालमा ८३ जनालाई राखिएको थियो । २१ जानालाई सम्झौता गरी परिवारलाई बुझाइएको थियो । ७ जना मानिस भागेर सडकमा आएका हुन । नेपाल प्रहरीको दिउँसो १ जना राति २ जना र नगर प्रहरीको २ जना सुरक्षाकालागी रहेको माया घरले जानकारी दिएको छ ।

यसरी सडक मानव रहित सहर बनाउने अभियानका साथ थालिएको अभियान अहिले अभियानको नाममा मात्रै सीमित बनेको छ । सडक मानवहरू फेरी सडकमै आएको कारण धरानका चौक गल्लीहरूमा जहीतही हिडीरहेको र पाटीमा सुतिरहेको देख्न पाइन्छ । कोरोनाको जोखिम बढी रहेको बेला यी सडक मानिसहरूले झन् जोखिम बढाएको छ । उनीहरूलाई तुरुन्त व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सम्बन्धित निकायले आरोप प्रत्यारोप होइन मिलेर यो समस्याको समाधान गर्नुपर्छ ।

Sadak-Manab-2 Sadak-Manab-3