इटहरी : गत ज्येष्ठ ३१ गते एकै पटक २५ जना सङ्क्रमित भेटिएको रतुवामाई नगरपालिका अहिले शून्य सङ्क्रमित नगर बनेको छ ।

भारतीय सिमाना जोडीको सो नगरमा भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरूमा कोरोना सङ्क्रमण देखिएको थियो । उदयपुरको भुल्के पछि प्रदेश १ को दोस्रो कोरोना केन्द्र हो रतुवामाई ।

रतुवामाई नगरपालिकामा ७५ जना सम्म सङ्क्रमित पुगे पनि हाल उक्त नगरपालीका शून्य सङ्क्रमित क्षेत्र भएको छ । बाहिरबाट आएका आगन्तुकलाई अनिवार्य क्वारेन्टीनको व्यवस्था गर्ने काम कडाइको साथ लागु भएपछि सङ्क्रमण फैलिन नपाएको मेयर रबिन राई बताउँछन् ।

‘सुरुमा भारतबाट आएका नागरिकलाई क्वारेन्टीनमा राख्ने काम गर्‍यौ ।’, उनले भने, ‘पछि सङ्क्रमण देखिएका हरूको कन्ट्याक ट्रेसिङको आधारमा टेस्ट गर्दै जाँदा अहिले शून्य सङ्क्रमितको अवस्थामा पुगेका हौ । तर अझै पनि जोखिम भने कायमै रहेकोले पूर्ण सतर्कता अपनाइरहेका छौ ।’

हाल सम्म ७ सय बढीको कोरोना परीक्षण गरिएको उनले बताए । अहिले पनि केही व्यक्तिहरू क्वारेन्टीनमै रहेको र बाहिर पनि पूर्ण सतर्कता अपनाइएको उनको भनाइ छ ।

केही दिन अगाडी भारतीय सीमा जोडिएका पालिकाहरूले मुख्यमन्त्री कार्यालयमा पुगेर छलफल नै गरे । परीक्षणको दायरा बढाउने र आइसोलेसन वार्ड बनाउने बारे मुख्यमन्त्री सँग कुराकानी भएको र सोही अनुसार काम भइरहेको मेयर राईले जानकारी दिए ।

‘रतुवामाईमा हालसम्म समुदाय स्तरमा सङ्क्रमण फैलिन पाएको छैन । तर जिम्मेवार सुरक्षा निकायले नै फितलो व्यवस्थापन गर्दा समस्या बढ्न सक्ने देखिएको छ ।,’ उनले भने, ‘अब सबै पालीका सँगको सिमाना सिल गर्ने र आफ्नो पालिका भित्र केही खुकुलो बनाउने तयारी थालेका छौ ।