धरान : कोरोना भाइरसको महामारीका कारण लामो समय देखि विद्यालय बन्द भएकोले विद्यार्थीहरूको पढाई अन्यौलमा परिरहेको बेलामा विभिन्न सञ्चार माध्यमबाट पठन पाठन गर्न सकुन् भन्ने उदेश्यले किराँतेश्वर मा.वि. का ५० जना विद्यार्थीहरूलाई मोबाइल वितरण गरिएको छ ।

धरान-१६ का बासीन्दा हाल अमेरिका निवासी लीला राईले सहयोग गरेको मोबाइल वैकल्पिक शिक्षाको पहुँच बाट टाढा रहेका विद्यार्थीहरूकालागि ५० थान मोबाइल वितरण गरिएको हो ।

कोरोना सङ्क्रमण र लकडाउनका कारण लामो समय देखि विद्यालय बन्द रहँदा विद्यार्थीहरूको पठन पाठनमा नै समस्या भएको छ । विभिन्न एफ रेडियोबाट पठन पाठन हुने गरेकोले त्यस्ता पहुँच नपुगेका विद्यार्थीहरूको छनौट गरी मोबाइल वितरण गरिएको हो । सो ५० थान मोबाइल अमेरिका न्युयोर्कमा रहेका धरान १६ का लीला राईले सहयोग स्वरूप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक डा.योगेन्द्र पालुङवाले बताए ।

फेसबुक म्यासेन्जरको माध्यमबाट कार्यक्रममा प्रत्यक्ष सम्पर्कमा रहेका सहयोगी राईले मोबाइलबाट विद्यार्थीहरूको सिकाई प्रभावकारी भएमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कोभिड-१९ बाट बच्न अमेरिकामा अपनाइएको सावधानीको विषयमा समेत राईले आफ्नो अनुभव र सुझाव सहभागीहरूलाई प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूलाई मोबाइल हस्तान्तरण गर्दै दाता राईलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान् लिम्बुले धन्यवाद प्रदान गरेका थिए ।

मोबाइल सँगै कुन कुन एफ एम रेडियो र टेलिभिजनबाट अध्यापन गरिने समय तालिका पनि प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, मिडियाकर्मी, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।