धरान : धनकुटा जिल्लामा कोरोना संक्रमितहरुहरुको उपचारकालागि आइसोलेसन कक्ष सञ्चालनमा आएको छ ।

धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको औद्योगिक ग्राममा २० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको हो । सो ठाउँमा यसअघि धनकुटा नगरपालिकाले क्वारेनटाइन सञ्चालन गरेको थियो । अहिले आएर औद्योगिक ग्राममा रहेका केही भवनमा क्वारेनटाइन र केही भवनमा आइसोलेसन सञ्चालन गरिएको छ ।

धनकुटा जिल्लामा पछिल्लो समय अत्यधिक रूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा संक्रमिततलाई राख्ने अस्पतालमा बेड अभाव भएको कारण धनकुटामा आइसोलेसन सञ्चालन गरिएको हो । आइसोलेसन कक्ष निर्माण भएसँगै शनिवार सङ्क्रमण पुष्टि भएका १९ जनालाई धनकुटामै राखेर उपचार थालिएको छ । यसअघि धनकुटामा भेटिएका कोरोना सङ्क्रमितलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर र मोरङको गोठ गाउँमा रहेको कोरोना अस्पतालमा पठाउने गरिएको थियो ।

सरकारले धनकुटामा ४ वटा भेन्टिलेटर, ६ बेडको आइसियु कक्ष सहितको ४० बेडको आइसोलेसन निर्माण गर्न दुई करोड बजेट उपलब्ध गराएको छ । ४ वटा भेन्टिलेटर, ६ बेडको आइसियु कक्ष सहितको ४० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सरकारले अनुमति प्रदान गरी कोरोना कोष मार्फत बजेटको सिलिङ पठाएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले बताए । सङ्घीय सरकारले कोरोना सङ्क्रमितहरूलाई उपचार गर्न र कोरोनाको नियन्त्रण गर्न आइसलेसन सेन्टर तथा भेन्टिलेटरसहितको आइसियु कक्ष निर्माण गर्न बजेट पठाएको हो । उनले धनकुटामा हाल २० बेडको आइसोलेसन कक्ष निर्माण भएको भए पनि चाँडै ४० बेडको आइसोलेसन बनाइने बताए ।

यस्तै आइसोलेसनमा सञ्चालनमा आएपछि नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाले कम्बल ३० थान, बिर्को सहितको प्लास्टिक बाल्टिन १० थान, प्लास्टिक जग ८ थान, स्ट्रेचर १ थान, नुहाउने साबुन ७ दर्जन सहयोग गरेको छ । जहाँ विपद् त्यहाँ रेडक्रस भन्ने नाराका साथ आइसोलेसनमा बस्ने मानिसलाई सहयोग पुगोस् भनेर सहयोग गरिएको रेडक्रस धनकुटाका सभापति हरिकुमार राईले जानकारी दिए ।


पिसिआर परीक्षण पनि धनकुटामै हुने
धनकुटा जिल्ला अस्पतालमा कोरोना सङ्क्रमण सम्बन्धी स्वाबको नमुनाबाट गरिने पिसिआर परीक्षण पनि धनकुटामै हुने भएको छ ।

स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गुरागाईका अनुसार सङ्घीय सरकारले पीसीआर परीक्षण मेसिन खरिद गर्न एक करोड बजेट पठाएको छ। कोरोनाको परीक्षणको दायरा बढाउन सङ्घीय सरकारले पीसीआर परीक्षण मेसिन जडान गर्न बजेट निकासा गरेको छ । पिसिआर परीक्षण मेसिन जडानका लागि बजेटको सिलिङ आएको र अब खरिद प्रक्रिया सुरु भएको गुरागाईले बताए । उनले बढीमा दुई महिनामा धनकुटामा पिसिआर परीक्षण मेसिन जडान हुने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको असार १२ गते र कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसिआर परीक्षण मेसिन राख्ने निर्णय गरेपछि बजेट निकासा भएको हो। धनकुटामा पिसिआर परीक्षण मेसिन जडान भएपछि कोसी पहाडी जिल्ला धनकुटासहित तेह्रथुम, सङ्खुवासभा र भोजपुरको स्वाब परीक्षण गरिने छ ।

DKT-Isoletion-1DKT-Isoletion