धरान : इटहरी-२० तरहरा स्थित लिबरल सोसाइटीले कोरोना सङ्क्रमितलाई "हेला हैन हौसला प्रदान गरौँ" अभियान सुरु गरेको छ ।

कोरोना सङ्क्रमण पछि होम आइसोलेसनमा बसिरहेका व्यक्तिहरूलाई थप हौसला प्रदान सोसाइटीले पौष्टिक आहारयुक्त खानेकुरा एवं जडीबुटी पनि वितरण गरेर अभियान सुरु गरेको हो ।

सङ्क्रमित व्यक्तिलाई समाजबाट बहिष्कार गर्ने घटना बढिरहेको बेला सोसाइटीले हौसला प्रदान गर्ने कार्यक्रम ल्याएको हो । पहिलो चरणमा तरहराका ५ जना सङ्क्रमित व्यक्तिहरूलाई खानेकुरा तथा जडीबुटी वितरण गरेको छ।

सोसाइटीका अध्यक्ष सुवेक्छु देवानका अनुसार सङ्क्रमणको दर बढ्दै जाँदा समाजमा त्रास पनि बढ्दै गएकोले हामी साथमा छौँ भन्ने अनुभूति गराउन खोजिएको हो । कोरोनाले भन्दा पनि समाजको बहिस्कारले आत्मबल कमजोर भएर मानिसको मृत्यु हुन सक्ने सम्भावित जोखिम लाई कम गर्न यसो गरिएको उनले बताए ।

घरेलु जडीबुटी गुर्जो, पौष्टिक आहारको साथै फेस मास्क, स्यानिटाइजर वितरण गरिएको उनले बताए ।