धरान : धरानका मेयर तिलक राईले आफूले सामुदायिक वनको रुख काटेको भन्ने खबर गलत भएको बताएका छन् । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै राईले व्यक्तिगत रिसिबीको आधारमा रुख काटेको भनेर कपोकल्पित आरोप भन्दै खण्डन गरेका छन् ।

बिज्ञप्तिमा भनेका छन् 'कोरोना महामारी नियन्त्रणकोलागी अघि बढिरहेको बेला धरान-२० स्थित भालुढुङ्गा सामुदायिक वन भित्रको रूखकाटिएकाे घटनामा मेरो संलग्नता र निर्देशनमा कोषाध्यक्ष भीम बस्नेतको उपस्थितिमा उक्त रुख काटिएको भन्ने कुरा र समाचार भ्रामक र कपोकल्पित हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।'

सामुदायिक बनका अध्यक्ष बुद्दीमान तामाङका अनुसार मेयर राईले घर बनाउनको लागि सामुदायिक वनमा ढलापडा रुख माग गर्दै आमाको नाममा निवेदन हालेको थिए । तर निवेदन अनुसार रुख दिने निर्णय भएकोमा बन भित्रै छिरेर हरियो रुख काटेको आरोप तामाङले लगाएका छन् ।

यता मेयरले भने विष्णुपादुका मेरो आफ्नै गाउँ र पुर्ख्यौली जग्गाजमिन समेत रहेकोले त्यहाँ आउजाउ मात्र गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । बन समितिको आन्तरिक अधिवेशन समेत नभएको बताउँदै राईले आफूसँग रिस साधेको हुन सक्ने बताएका छन् । समितिको कोषाध्यक्षको घर छिमेकीको अवस्थामा रहेकोले भेट मात्र भएको स्पष्टीकरण राईको छ ।

'मलाई जानकारी भएसम्म वन समितिको आन्तरिक अधिवेशन केही वर्षदेखि विविध कारणबाट नियमित हुन नसकेको अवस्था रहेछ' विज्ञप्तिमा भनिएको 'यी आन्तरिक समस्या र कोषाध्यक्षसँगको पारिवारिक र व्यक्तिगत आग्रह पूर्वाग्रह समेतलाई जोडी, रिसिवी साध्ने काम भएको प्रस्ट पार्न चाहन्छु ।'

विज्ञप्तिको अन्त्यमा राईले नगरवासीहरुलाई आफूप्रतिको विश्वास कायम राखी राख्न आग्रह गरेका छन् । 'यो प्रसङ्गमा यहाँहरूको नगर प्रमुखको कुनै किसिमको संलग्नता नरहेको जानकारी गराउँदै हजुरहरूको असीम माया, स्नेह तथा साथ सहयोगको निरन्तर अपेक्षा राख्न चाहन्छु । मेरो व्यक्तिगत र नगर प्रमुखको हैसियतले मेरो तन, मन र वचन सम्पूर्ण नगरवासीहरू प्रति सदैव बफादारीताका साथ रही रहने प्रतिबद्धता व्यक्त गर्दछु ।'

Mayar-letest-Press-release-