धरान : दिनानुदिन कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको बेलामा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पताल प्रमुखले राजीनामा दिएकी छिन् ।

कोभिड-१९ अस्पतालका प्रमुख डा.कृष्णा पोखरेलले उपकुलपति डा.ज्ञानेन्द्र गिरी समक्ष केही दिन अघि राजीनामा दिएकी थिइन् । राजिनामा आज स्वीकृत भएको हुन सक्ने प्रतिष्ठान स्रोतले बताएको छ । सङ्क्रमितको सङ्ख्या बढी रहेको बेलामा कोभिड अस्पतालकी प्रमुखले राजीनामा दिनु दु:खद भएको बताइएको छ ।

कोभिड-१९ अस्पताललाई सुरु देखिनै नेतृत्व प्रदान गरेकी डा.पोखरेलको अचानक राजीनामा आउनु दुःखद भएको प्रतिष्ठानका अन्य चिकित्सकहरूको भनाई छ ।

अस्पतालको औषधी खरिदमा अनावश्यक हस्तक्षेप र दबाब उनलाई परेको र अस्पतालको माग फारमभन्दा बाहिरको र म्याद गुज्रिन लागेको औषधी खरिद गरिएको विषयमा डा.पोखरेल असन्तुष्ट रहेको स्रोतको भनाई छ । डा.पोखरेल एनेस्थेसिया विभागकी प्रोफेसर समेत हुन् ।

चौतर्फी प्रतिष्ठानको कोभिड अस्पताल सञ्चालन गर्नुपर्ने दबाब बढेपछि भर्खरै सम्पन्न सिनेट बैठक अघि तयारी नै नभएको कोभिड अस्पतालमा बिरामी राखेर सञ्चालन गर्न उनलाई ठुलो दबाब दिईएकोे र बिरामी नराखे कारबाही गर्ने भनेर पत्र पठाइएको बताइएको छ । त्यसपछि नै डा.पोखरेलले काम नगर्ने मनस्थितिमा पुगेको हुनसक्ने प्रतिष्ठान स्रोतको दाबी छ ।

फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेलले कोभिड अस्पताललाई सुरुबाट सञ्चालन गरेर यो अवस्था सम्म ल्याउने प्रमुखले राजीनामा दिने अवस्था आउनु ठिक नभएको बताए ।

डा. पोखरेलले केही दिन अघि नै उपकुलपतिलाई राजीनामा बुझाएको भए पनि बाहिर कुरा आज मात्रै आएको हो । मौखिकरुपमा राजीनामा स्वीकृत भइसकेको हुनसक्छ । नयाँ नियुक्ति तयार भइसकेको पनि हुन सक्ने प्रतिष्ठान स्रोतले बताएको छ ।

बीपीको कोभिड-१९ अस्पताल पुर्णरुपमा भौतिक हिसाबले तयारी नभई सञ्चालन गर्न दबाब आएको र सञ्चालन नगरे कारबाही सम्म गर्ने लगायतका कारण डा. पोखरेलले राजीनामा दिएको हुनसक्ने एक चिकित्सकले बताए ।