धरान : धरानका १४ दिन भित्रमा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

भदौ ३ गते धरानमा धरान १५ की ७१ बर्षीया महिलाको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । त्यसको ३ दिन पछि भदौ ६ गते धरान १५ कै ६७ वर्षीय पुरुषको प्लाज्मा थेरापी गरेको भोलि पल्ट प्रतिष्ठानमै मृत्यु भएको थियो । त्यसको भोलिपल्ट धरान ८ का ७६ वर्षीय पुरुष जो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरेका कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।

यसै गरी भदौ १४ गते धरान १७ का एउटै परिवारका ७४ बर्षीया आमा र ६० वर्षीय पुरुष छोराको पनि प्रतिष्ठानमै उपचारको क्रममा मृत्यु भयो । उनीहरू दुवै जनाको अवस्था गम्भीर भएपछि मात्रै अस्पताल पुर्‍याएको थियो ।

त्यसै गरी हिजो भदौ १५ गते धरान ११ मङ्गलवारे नजिकैका एक ६५ वर्षीय पुरुषको घरमै मृत्यु भयो । कोरोना आशङ्का गरिएका ती वृद्ध पुरुषको मृत्यु पछि स्वाब लिइएको थियो । उनको मृत्यु पछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले सम्म धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । धरानमा १४ दिनको अवधिमा ६ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।  धरानमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेसँगै मृत्युदर पनि बढेको छ ।