धरान : धरानमा आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी र एक जना इलाका प्रहरी कार्यालयका थुनुवा सहित ५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

आज संक्रमित हुनेहरूमा धरान १७ का भदौ १४ गते एकै परिवारका कोरोना सङ्क्रमणबाट मृत्यु भएका आमा छोराको परिवारका २ जना ८४ वर्षीय वृद्ध पुरुष, ५५ वर्षीय पुरुष र अर्का धरान १७ कै २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरू सबैको भदौ १४ गते मृत्यु हुनेहरूको कनट्र्याक्ट ट्रेसिङको क्रममा स्वाब लिएको ३० जनाको मध्ये ३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

यसै गरी आज नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा लिइएको स्वाबमा इलाका प्रहरी कार्यालय धरानमा रहेका एक जना धरान १४ पिण्डेश्वर बस्ने २० वर्षीय एक जना पुरुष, अर्को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी धरान १६ बस्ने ४४ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण भएको छ । यो सँगै धरान उपमहानगरपालिकामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७८ पुगेको छ ।