धरान : कोरोना सङ्क्रमितलाई समाजले छि छि र दूर दूर गरिरहेको भन्ने कुरा सबै तिरबाट आइरहेको बेलामा विराटनगर महानगरपालिका – १२ मा भने उदाहरणीय काम भएको छ ।

सोही टोलका किशोर धमला कोरोना सङ्क्रमण पुष्टि भएको २० दिनपछि कोरोना मुक्त भए । २० दिन होल्डिङ आइसोलेसनमा बसेका उनलाई घर जान पाउँदा अरू संक्रमित जस्तो दुखी थिएनन् खुसी थिए । घर पुगेपछि उनको खुसीको झन् सीमा नै रहेन । सङ्क्रमण मुक्त भएपछि घर पुगेका उनलाई छिमेकीहरूले स्वागत गरे । मङ्गलवार सङ्क्रमण मुक्त भएका धमला, उनकी श्रीमती र छोरीलाई छिमेकीले फूल गुच्चा दिएर स्वागत सम्मान गरे ।

कोरोना सङ्क्रमण मुक्त भएकाहरूलाई समाजमा तिरस्कृत गरेको विषय नयाँ होइन । विराटनगर महानगरपालिका १२ का आलोक टोलका स्थानीयवासीले सङ्क्रमितलाई स्वागत गरेर हौसला प्रदान गरे । ‘टोलमा सम्मान पाउँदा धेरै खुसी छ ।’ धमला भन्छन् ‘ कोरोना रोग होइन । हाम्रो टोलवासीको कामबाट समाजले सिक्नुपर्छ ।’ सङ्क्रमण मुक्त भएकाहरूलाई समाजले अर्कै व्यवहार गरेका धमलाले पनि सुनेका थिए । आफ्नो टोलबाट नयाँ सन्देश दिएकाले खुसी लागेको उनले बताए ।

‘सङ्क्रमण मुक्त भएकालाई पनि समाजले राम्रो दृष्टिले हेर्दैनन् भन्ने सुनिरहेका बेला सबैको सहयोग र सम्मान पाउँदा खुसीको सीमै रहेन ।’ उनले भने ‘सङ्क्रमण जोसुकैमा हुन सक्छ ।समाजले सकारात्मक व्यवहार देखाइदिए मात्रै पनि कोरोना सहजै पचाउन बल पुग्छ ।’

नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का अध्यक्षसमेत रहेका धमलालाई साउन २८ गते बुधवार कोरोना पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि उनी मारवाडी सेवा सदनमा बसे ।  उनको ‘कनट्र्याक्ट ट्रेसिङ’मा परेका श्रीमती, छोरी र छोराको रिपोर्ट पनि भदौ १ गते पोजेटिभ आएको थियो । लक्षण नदेखिएपछि तीन जना ‘होम आइसोलेसन’ बसेका थिए । पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै धमला सहित श्रीमती र छोरी उपचारपछि मङ्गलवार कोरोना मुक्त भएका छन् ।

सबै तिर कोरोना जितेर अस्पतालबाट घर फर्किएकाहरूलाई हेयको दृष्टिले हेर्ने गरेको पाइएकोले सकारात्मक सन्देश प्रवाह गर्न आफ्नो टोलका कोरोना सङ्क्रमण भएर निको भएकाहरूलाई स्वागत सम्मान गरिएको स्थानीय जगदीश तिम्सिनाले बताए ।