इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीले अनलाइन मार्फत भर्ना तथा कक्षा सञ्चालन गर्ने भएको छ ।

भाद्र १५ गते सोमबार एक विज्ञप्ति जारी गर्दै हिसानले लामो समयको बन्दाबन्दीको कारण विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित बन्दै गएकोले अब वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्ने जानकारी दिएको छ ।

हिसान सुनसरी सचिव सागर प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा ५ महिनादेखि शिक्षालयहरू खुल्न नसक्दा शैक्षिक सत्र नै जोखिममा परेकोले वैकल्पिक उपाय अवलम्बन गर्न अनुरोध गरिएको छ ।

सरकारले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरे पनि यसको कार्यान्वयन तिन तहका सरकार चुकेको हिसानको ठहर छ । यस विषयमा सम्पूर्ण राजनैतिक दल, नागरिक समाज तथा बुद्धीजिवीहरुले आवाज उठाउन आग्रह गरिएको छ ।

लामो समयको बन्दाबन्दी खुल्ने अवस्था नरहेकोले कक्षा ११ र १२ का विद्यार्थीको नयाँ भर्ना कार्यक्रम प्रभावित भएको छ ।, विज्ञप्तिमा भनिएको छ, ‘ बन्दाबन्दीले गर्दा विद्यार्थीको पठनपाठनको अधिकार पेचिलो बन्दै गएको छ । यस विषम परिस्थितिमा विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्नको लागी भदौ १७ गतेदेखि कक्षा ११ र १२ को भर्ना अभियान सुरु गर्ने निर्णय गरेका छौ । यस्तो सकारात्मक र सृजनात्मक अभियानमा साथ दिन सबै अनुरोध गर्दछौ ।’

प्रविधिको उच्चतम उपयोग गरी भर्ना अभियानमा सहभागी हुन हिसानले सम्बद्ध सम्पूर्ण विद्यालयलाई अनुरोध गरेको छ । सङ्घीय सरकारको सूचना र निर्देशिका बमोजिम भाद्र २५ देखी कक्षा १२ को र असोज ५ देखी कक्षा ११ को अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले लामो समयको बन्दाबन्दीको कारण शैक्षिक क्षेत्र धारासायी मात्र नभई विद्यार्थीको पठनपाठनको बानी व्यवहार समेत बिग्रँदै गएको बताए । यस्तो विषम परिस्थितिमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षण संस्थाले गम्भीर भएर लागिपर्नुपर्ने उनको भनाइ छ ।

hisan-classstart news -meet