इटहरी : इटहरी स्थित रङ्गशालामा बन्न लागेको आइसोलेसनमा प्रदेश सरकारले २० लाख दिएको छ । इटहरी रङ्गशालामा सात दिन भित्र सय बेडको आइसोलेसनको लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको हो ।

बिहीबार इटहरीमा प्रदेश सांसद सर्वध्वज साँवाको प्रमुख आतिथ्यमा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको कोभिड रोकथाम, तथा नियन्त्रण तथा व्यवस्थापन नगर स्तरीय समितिले एक हप्ता भित्र आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

बैठकले आवश्यक स्वास्थ्य जनशक्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वाइफाईका लागि नेपाल टेलिकम सँग माग गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रदेश सांसद सर्वध्वज साँवाले आइसोलेसन निर्माणको लागि आवश्यक पर्ने अन्य सहयोगका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

आइसोलेसन निर्माणको लागि विभिन्न निकाय सँग पहल गरिरहेको तथा कामलाई तीव्रता दिएको प्रमुख द्धारिकलाल चौधरीले बताए । व्यवस्थापन उपसमिति संयोजक तथा वडाध्यक्ष भूपेन्द्र बरालले आइसोलेसन निर्माण र सञ्चालन सहयोगको लागि सवैमा आग्रह गरेका थिए ।

बरालका अनुसार आइसोलेसनको लागि आवश्यक पूर्वाधारको तयारी तीव्र रहेको तथा जमिन सम्याउने काम भइरहेको बताए । त्यहाँ वाइफाई र सिसी क्यामेरा जडानको साथै १२ वटा शौचालय र २ वटा वाथ रुम निर्माण गरिने भएको छ ।