झापा : झापाको दमकमा लकडाउन र निषेधाज्ञा खुकुलो बन्ने भएको छ ।

दमक नगरपालिका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको आज (शुक्रवार) बसेको बैठकले भाद्र २१ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो ।

आज भएको छलफलमा अब बजार तथा वित्तीय संस्था ४ बजेसम्म खुला गर्ने निर्णय भएको र मालपोत तथा नापी कार्यालयहरू पनि सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरेर खुल्ला गर्ने निर्णय भएको दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिएकी छन् ।

बजार खुले पनि होटेल व्यवसाय खोल्न पाइने तर होटेलमै ग्राहकलाई खान दिन नपाइने भएको छ । होटेलमा बनाएको खानेकुरा किनेर घरैमा लगेर खाने व्यवस्था मिलाउनु पर्नेछ । त्यसै गरी बढी भिडभाड हुने कार्यक्रम र भेल गर्न पाइने छैन भने पसल सञ्चालन गर्दा मास्क र सेनिटाईजर अनिवार्य लगाउनु पर्नेछ ।

बजार खुल्ने भए पनि कोरोना सङ्क्रमणको जोखिम कम नभएकोले भौतिक दुरी कायमै राखी व्यवसाय सञ्चालन गर्न ब्यवसायीहरुलाई आग्रह गरिएको छ ।

यसभन्दा अघि निषेधाज्ञा थप्दा बिहान ७ बजेदेखि दिउसो १२ बजेसम्म बजार खुला गर्ने निर्णय भएको थियो । अब खुकुलो बनाउँदै अपराह्न ४ बजे सम्म बजार खुल्ला गर्ने निर्णय गरिएको छ ।

सङ्क्रमित थपिने क्रम भने रोकिएन
दमकमा आज ५ जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । आज ३ महिला र २ पुरुष गरी समुदायका ५ जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

आज सङ्क्रमण देखिएकाहरूमा वडा नम्बर ७ का २१ र ५२ वर्षका दुई जना पुरुष, वडा नम्बर ६ का २९ ४६ वर्षका दुई महिला र वडा नम्बर ८ का ६२ वर्षीय एक महिला रहेका छन् । उनीहरू सबै समुदायका व्यक्तिहरू रहेको बताइएको छ ।

आज थपिएका सँगै गरी दमकमा कुल सङ्क्रमितको सङ्ख्या १ सय ११ पुगेको छ । उनीहरू मध्ये ५६ महिला र १३ पुरुष गरी ६९ जना सङ्क्रमित उपचार पछि निको भएका छन् । अहिले दमकका ४२ जना सक्रिय सङ्क्रमितहरू रहेका छन् ।