धरान : मोरङको मिक्लाजुङ्ग गाउँपालिकाको वडानं. ४ सफेवामा कोशी पुर्व दोस्रो पटक र मोरङमा पहिलो पटक दुर्लभ राज गोमन किङकोब्रा फेला परेको छ ।

मोरङको मिक्लाजुङ्ग गाउँपालिका वडा न.४ सफेवा गाउँको एउटा घरको सिलिङमा लामो सर्प भएको खबर पाएपछि मोरङको मङ्गलबारेका अलमिक्स नेपाल युट्युब च्यानलका गणेश श्रेष्ठ र देव राईले किङ कोब्राको उद्धार गरेका हुन् । उनीहरूले निकै लामो समय लगाएर घरबाट उद्धार गरेको किङकोब्राको सुरक्षित क्षेत्र जङ्गलमा लगेर छाडेका छन् ।

सर्पको उद्दारमा सक्रिय सर्प विज्ञ प्रेम विष्ट सँगै भिडियो खिच्न हिडने क्रममा अलमिक्स नेपालका गणेश श्रेष्ठ र देव राईले पनि सर्पको महत्त्व जान्न र बुझ्न थालेसङै अहिले विषालु सर्प समेत उद्धार गर्न सक्ने भएका छन् । अहिले उनीहरूले युट्युबका लागि भिडियो खिच्ने मात्रै होइन सर्पको पनि उद्धार गर्न थालेका छन् । यही क्रममा उनीहरूले सफेवामा पहिलो पटक विषालु सर्प राज गोमन किङकोब्राको उद्धार गर्न सफल भएका छन् । गणेश श्रेष्ठले भने सर्प बचाउने अभियानमा अलमिक्स टिम लागिपरेको छ ।

गत वर्ष धरान २० को काली खोलामा कोशी पूर्व पहिलो पटक राज गोमन किङकोब्रा भेटिएको थियो । यो नै कोशी पूर्वमा किङकोब्रा भेटिएको पहिलो रेकर्ड भएको सर्प विज्ञ प्रेम विष्ट बताउँछन् । दोस्रो पटक अलमिक्सको टिमले गत वर्ष भेटिएको किङकोब्राको तुलनामा केही ठुलो किङकोब्रा मोरङमै पहिलो पटक मिक्लाजुङ गाउँपालिकाको सफेवामा फेला परेको हो ।

किङकोब्रा निकै लामो र छरितो हुन्छ । यो सर्पलाई नेपालीमा राज गोमन र अङ्ग्रेजीमा किङकोब्रा भन्ने गरिन्छ । यो सर्प विश्वमा दुर्लभ मानिन्छ । यो सर्पले अरू सर्प खाने गर्दछ । यो सर्प अत्यन्तै विषालु हुने सर्प विज्ञ तथा सर्प उद्धारकर्ता प्रेम विष्ट बताउँछन् ।

यस्ता सर्प पनि कोशी पूर्व पाइन थालेको छ । दर्लभ किङकोब्राको संरक्षणमा लाग्नुपर्ने उनी बताउँछन् । पछिल्लो पटक केही दिन अघि मात्रै धरान-२० मा निकै ठुलो सर्पले सर्प र गोहोरो खाँदै गरेको स्थानीयले देखेर फोटो खिचेका थिए । त्यो फोटो हेर्दा धरान देखी केही मास्तिर अरू पनि किङकोब्रा भएको फोटोले पुष्टि गरेको विष्टले बताए ।

कोशी पूर्व दोस्रो पटक मोरङको मिक्लाजुङको सफेवा र धरानको काली खोला, र अरू क्षेत्रमा पनि देखिन थालेकोले ती क्षेत्रलाई किङकोब्रा जोन भनेर सर्पको संरक्षण सँगै सर्वसाधारणलाई सचेत र सजग बनाउनु पर्ने सर्प विज्ञहरू बताउँछन् ।

Kingcobra-1 Kingcobra-3