धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै मोरङका रहेका छन् ।

विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज सम्म मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । आज थप ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १४ महिला १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला ६ पुरुष, धरानका ४ महिला १ पुरुष, झापाको दमकका १ महिला २ पुरुष, बिर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ८७९ पुगेको छ ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । उनीहरू सबै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज सम्म ९७ हजार २२१ जनाको कोरोना परीक्षण गरिएको छ ।