धरान : निरन्तरको लकडाउन र कोरोनाको कारण अहिले निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरूलाई निजी विद्यालयहरूले तलब नदिँदा समस्या भएको छ ।

चैत अघिको २० प्रतिशत विद्यालयहरूले अझै तलब दिएका छैनन् भने वैशाख देखि यता कुनै पनि निजी विद्यालयहरूले शिक्षकहरूलाई तलब दिएको छैन । निजी विद्यालयहरूमा पढाउने शिक्षकहरूलाई अहिले घर व्यवहार चलाउन नै गाह्रो भएको छ ।

निजी विद्यालयका शिक्षकहरूले तलब पाउनुपर्ने भन्दै असार १९ गते संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले देशव्यापी आन्दोलन नै गर्‍यो । त्यस पछि साउन ७ गते तलब पाउनु पर्‍यो, बाँच्ने आधार दिनु पर्‍यो भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझायो । यसै गरी निजी विद्यालयहरूको सङ्गठन प्यावसन, एनप्याव्सन सँगै वैशाख देखि यताको तलब साउन २५ गते भित्रमा दिने सहमति पनि भयो ।

प्याव्सन एनप्वाव्सनले शिक्षकहरूलाई विद्यालयमै बोलाएर तलब दिने गरी सहमति भएको थियो । त्यो सहमति अहिले सम्ममा पनि कार्यान्वयन नआएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का सुनसरी इन्चार्ज तथा प्रदेश १ का उपाध्यक्ष जेपी काफ्लेले बताए ।

कोरोनाको कारणले सबै विद्यालय बन्द भएको अवस्थामा सबै भन्दा बढी मर्का निजी विद्यालयका शिक्षक शिक्षिकाहरुलई भएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सुनसरीका कोषाध्यक्ष आकाश भाटीले बताए । चाडपर्वहरू नजिकिँदै गर्दा पनि सम्बन्धित विद्यालयहरूले शिक्षकहरूलाई ५ महिना देखि तलब नदिँदा परिवार चलाउन नै ठुलो समस्या सिर्जना भएको कोषाध्यक्ष भाटीको भनाई छ ।

सरकारी विद्यालयमा पढाउने शिक्षकहरूले तलब पाइरहेका छन् तर निजी विद्यालयमा पढाउने शिक्षकहरूले भने ५ महिना भन्दा अघि देखिको तलब पाएका छैनन् । यस्तो अवस्थामा निजी विद्यालयका शिक्षकले आफ्नो परिवारमा साँझ बिहान हातमुख जोर्न नै समस्या भएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सुनसरीका सचिव शम्भु रेग्मीले बताए ।

विद्यालय बन्द हुँदा अर्को केही गर्ने विकल्प नै नभएको बताउँदै “टिउसन पढाऊ त्यो पनि मिल्दैन के गरौँ ? हिजोका दिनमा निजी विद्यालयहरूले पैसा कमाए, नाफा खाए । तर आज यो विषम परिस्थितिमा आफ्नो विद्यालयमा पढाउने शिक्षक शिक्षिकालाई नै निजी विद्यालयहरूले हेरेन ।”

यत्तिका महिना सम्म विद्यालयले वैशाख यताको मात्रै होइन चैत अघिको तलब समेत नदिँदा निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाको चुलो नबल्ने अवस्था सिर्जना भएको छ । त्यसैले भोलि आइतबार संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सुनसरीले धरान उपमहानगरपालिकामा 'न्याय पाउँ' भन्दै निवेदन दिने इस्टुका सचिव रेग्मीले बताए ।

सुनसरीमा करिब ४ सय निजी विद्यालय छन् भने निजी विद्यालयमा पढाउने शिक्षकको सङ्ख्या करिब ७ हजार बढी रहेको बताइएको छ । लकडाउनको बेलामा केही विद्यालयहरूले शिक्षक समेत निष्कासित गरेका छन् । यस्ता घटनाहरूले गर्दा निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरूलाई चैत देखि यताको तलब नपाउँदा ठुलो समस्या भएको छ । संस्थागत विद्यालय शिक्षक युनियन इस्टुले भने तलब पाउनुपर्ने माग गर्दै थप आन्दोलन नै गर्ने तयारी गरेको जनाएको छ ।

Estu-2