धरान : धरानमा आज साँझ ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यत्ति ठुलो सङ्ख्यामा एकै दिन एकै ठाउँबाट कोरोनाकाे सङ्क्रमण पुष्टि हुनु जिल्लामै पहिलो घटना भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन् । गत भदौ १७ गते धरान-१३ फुस्रे स्थित नेपाली सेनाको ब्यारेकमा रहेका १ सय ३१ जना सेना र इलाका प्रहरी कार्यालय धरानका ११ जना प्रहरीको स्वाब लिइएको थियो ।

इलाका प्रहरी कार्यालय धरानबाट स्वाब दिइएका ११ जना मध्ये १ जना प्रहरी हवल्दार र प्रहरी जवान गरी २ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसै गरी फुस्रे स्थित नेपाली सेनाको ब्यारेकका १ सय ३१ जना मध्ये ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

धरानमा यस अघि फुस्रे सैनिक क्याम्पमै कार्यरत २३ जना सेनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । यस भन्दा अघि धरानमा कोरोना संक्रमित नेपाली सेनाको सङ्ख्या ३० पुगेको थियो । आज फेरी सेना र सेनाका परिवारमा ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो ।

आज थप थपिए सँगै फुस्रे क्षेत्र कोरोना सङ्क्रमणको उच्च जोखिम क्षेत्र भएकोले फुस्रे क्षेत्रमा भोलि बिहान देखि सिल गर्ने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए । धरानमा लागु गरिएको लकडाउन हटाइनुको साथै दिउसो १२ बजे सम्म अहिले बजार पसल खोलिँदै आएकोमा बजारलाई व्यवस्थित बनाउन धरान उपमहानगरपालिकाद्वारा पहल हुने पनि मेयर राईले बताए ।

कोरोना सङ्क्रमणको जोखिम उच्च हुँदै गएकोले गर्दा नागरिक सचेतना गर्दै धरान बजारलाई व्यवस्थित बनाउने तयारी भइरहेको उनले बताए ।

आज साँझ थपिएका ६४ जना सहित धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७१ पुगेको छ ।